२०८१ पौष २७, शनिवार , ०४:१६:१३ बजे

Sajhamanch
'

समुदायमा सहकारी १ : गत आ.व.मा एनएमसीले मात्र साढे ४ करोड वितरण गर्यो

सोमवार, साउन २१, २०८१

झापा । देशकै नेतृत्वदायी सहकारी झापाको नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले गत आर्थिक वर्षमा आफ्ना सदस्य, सदस्यका परिवार र समुदायका लागि ४ करोड ४९ लाख २३ हजार ८९० रुपैयाँ राहत तथा सुविधा वापत वितरण गरेको छ ।

झापाको काँकरभिट्टामा प्रधान कार्यालय रहेको तथा कोशी प्रदेशका मोरङ र इलाम जिल्लालाई समेत कार्यक्षेत्र बनाएको मुलुकको दोस्रो ठूलो सो सहकारी संस्थाले आर्थिक वर्ष २०८०/०८१ मा १४ वटा शीर्षकमा उक्त रकम सदस्य राहत तथा सुविधा वापत वितरण गरेको तथ्याङ्कमा उल्लेख छ ।

संस्थाको सामुदायिक विभागले उपलब्ध गराएको तथ्याङ्क अनुसार संस्थाका १ हजार ८१४ जना सदस्य तथा तिनका परिवारको मृत्युमा राहत सुविधा तथा शुद्ध्याँई खर्चवापत मात्र २ करोड ७६ लाख ७४ हजार रुपैयाँ प्रदान गरिएको छ । यस्तै, २ हजार ८१५ जनाको मृत्युमा समवेदना र सिदा खर्चवापत १९ लाख ८९ हजार ५४३ रुपैयाँ खर्च भएको छ ।

संस्थाले सदस्य परिवारमा हुने जन्मदेखि मृत्युसम्मका हरेक सुख दःुखका घटनामा अभिभावकत्व दर्शाउँदै यस्तो राहत र सुविधा प्रदान गर्ने नीतिगत व्यवस्था छ । सोही बमोजिम दीर्घरोगको उपचार सुविधावापत १६१ जना सदस्यलाई ३७ लाख ७१ हजार ६५० रुपैयाँ प्रदान गरिएको छ ।

त्यस्तै, प्राकृतिक प्रकोपमा परेका २७ जनालाई २ लाख ३७ हजार ५०० रुपैयाँ, घाइते भएका ३७ जनालाई उपचार राहत वापत ३ लाख ९० हजार २८५ रुपैयाँ, सुत्केरी भेटघाटका क्रममा १ हजार ६३४ जनालाई १५ लाख ४९ हजार २८७ रुपैयाँ बराबरको पोषिलो खानेकुरा प्रदान गरिएको संस्थाले जनाएको छ ।

त्यसैगरी, संस्थाका १४ हजार ९९४ जना बाल बचतकर्तालाई जन्मदिनको उपहारमा ४५ लाख १३ हजार ९६५ रुपैयाँ खर्च गरिएको छ भने विद्यालय प्रथम हुने ५० जना बाल बचतकर्तालाई २ लाख ५० हजार रुपैयाँ पुरस्कार प्रदा नगरिएको छ ।

बालबचत खाता खोलेका ६५६ जना बचतकर्तालाई उपहारस्वरुप ३ लाख ६ हजार ६६० रुपैयाँ, २८ वटा सामुदायिक क्याम्पसमा अध्ययनरत १–१ जना विद्यार्थीलाई छात्रवृत्ति अन्तर्गत ३ लाख ३६ हजार रुपैयाँ खर्च भएको छ । संस्थाले ७५३ जना ज्येष्ठ सदस्यहरुलाई सम्मान गर्दै ३७ लाख ८५ हजार रुपैयाँ खर्च गरेको छ ।

यसैगरी, संस्थाले स्टुडेन्ट सेभिङ क्लब गठन भएका २४ वटा विद्यालयलाई १ लाख २० हजार रुपैयाँको शैक्षिक सामग्री वितरण गरेको छ ।

सहकारी अभियानप्रति नकारात्मक दृष्टि राख्नेहरु एवम् अफवाह फैलाउनेहरुका लागि यसरी रकम वितरण गर्नु अर्को मसला बन्न सक्ला । तर सदस्यद्वारा स्थापित र सदस्यकै लागि सञ्चालित वित्तीय क्षेत्र सहकारीले आफ्ना सदस्य एवम् समुदायका लागि गरेको यस्तो योगदान बिरलैमात्र देख्न पाइन्छ ।

कतिपय सहकारी संस्थाको वासलात अंकभन्दा बढी समुदायलाई सहायता वितरण गर्नसक्ने क्षमता राख्ने औंलामा गन्न सकिने सहकारी संस्थाहरुमध्ये झापामा नै धेरै छन् । तिनै मध्येको एक एनएमसीले समुदाय र सदस्यको लागि गरेको खर्चलाई अतुलनीय योगदान मान्न सकिन्छ ।

सम्बन्धित खबर