२०८१ पौष २७, शनिवार , ०४:१६:१० बजे

Sajhamanch
'

‘माओवादी जनयुद्धको नेतृत्व पश्चिमले गरेको र अब समाजवादी क्रान्तिको नेतृत्व पूर्वले गर्ने’ : उपमहासचिव गजुरेल

शनिवार, साउन १९, २०८१

झापा । नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले माओवादी जनयुद्धको नेतृत्व पश्चिमले गरेको र अब समाजवादी क्रान्तिको नेतृत्व पूर्वले गर्ने उद्घोष गरेका छन् ।

झापाको बिर्तामोडमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा मन्तब्य राख्दै माओवादी नेता गजुरेलले संविधानमा माओवादीका एजेण्डा स्थापित हुन नदिनका लागि २०७० सालमा कांग्रेस र एमालेले सरकार बनाएको स्मरण गराए । उनले भने ‘त्यो बेला सदन र सडकबाट सङ्घर्ष गरेर हामीले अग्रगामी संविधान बनायौं । अहिले त्यो संविधानलाई परिवर्तन गर्नका निमित्त फेरि प्रमुख दुई दलले सरकार बनाएका छन् ।’

सबै माओवादी घटक एक ठाउँमा उभिने अवस्था आएको भन्दै उनले पार्टी र नेतृत्व कमजोर नहुने विश्वास पनि दिलाए । माओवादी केन्द्र कोशी प्रदेश कमिटीले बिर्तामोडमा आयोजना गरेको सो पार्टी प्रवेश कार्यक्रममा विभिन्न राजनीतिक दलमा वर्तमान तथा पूर्व कमिटीगत जिम्मेवारी लिएका नेता कार्यकर्ताहरु प्रवेश गरेका थिए ।

माओवादी केन्द्र पार्टी प्रवेश गर्नेमा समाजवादी युवा संघ नेपालका प्रदेश अध्यक्ष टाइसन केरुङसहित प्रदेश उपाध्यक्ष दिपेन लिम्बू, सहसचिव दिपेन जबेगु, प्रदेश सदस्य तेन्जिङ लामा, नेपाली कांग्रेसका पूर्व महासमिति सदस्य राजभक्त योङ्ग्या, नेकपा एमाले झापाका पूर्व जिल्ला कमिटी सदस्य छवि गहतराज, महिला उद्यमी जय सुब्बा, नर्वदा कार्की लगायत हुन् ।

सो कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो मौसमले मुलुकको राजनीतिक परिवर्तन माओवादीकै कारण भएको बताए । प्राप्त उपलब्धिको रक्षा गर्ने दायित्व पार्टीको रहेको बताउँदै उनले माओवादीलाई घेराबन्दी गर्न कांग्रेस एमालेले मध्यरातमा सहमति गरेको जिकिर गरे ।

माओवादी कमजोर हुँदा जनताका अधिकारसमेत कमजोर हुने बताउँदै उनले पार्टीलाई रुपान्तरणसहित सशक्त बनाउन आवश्यक भएको बताए ।

पार्टीका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्बाङ मिक्सोले पार्टी प्रवेश कार्यक्रम कास्टिङ मात्र भएको बताउँदै कांग्रेस एमालेका केन्द्रीय तहका नेतासहित ठूलो पंक्ति माओवादी केन्द्रमा प्रवेश गर्ने तयारीमा रहेको खुलासा गरे । उनले भने, ‘हामी निरन्तर छलफलमा छौं, छिट्टै अर्को भव्य कार्यक्रम गरेर ठूलो संख्यामा पार्टी प्रवेश गराउने तयारी भइरहेको छ ।’

पार्टीका प्रदेश उपाध्यक्ष विजय साम्पाङले सञ्चालन गरेको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य हरिकुमार राना, ,सदस्य धर्मशिला चापागाईं, झापा संयोजक राजु आचार्य अग्नि, वाइसीएलका केन्द्रीय सचिव डम्बर पुलामी लगायतले नवप्रवेशीलाई अबिर खादा पहिर्याएर स्वागत गरेका थिए ।

सम्बन्धित खबर