२०८१ पौष २१, आइतवार , ०७:४७:१० बजे

Sajhamanch
'

कृषिमन्त्री अधिकारीले भने, ‘दुग्ध किसानको बक्यौता रकम तिर्छौं’

शुक्रवार, साउन १८, २०८१

काठमाडौं । कृषि तथा पशुपछी विकासमन्त्री रामनाथ अधिकारीले मौज्दात दुग्ध पदार्थ सस्तोमा बिक्री गरेर भए पनि किसानको बक्यौता रकम तिर्ने बताएका छन् ।

डेरीले नगदमा दूध बेचे पनि किसानलाई उधारो राख्ने परिपाटी अन्त्य गर्न मन्त्रालयले गृहकार्य थालेको उनले बताए ।

‘डेरी उद्योग र सरकारी दुग्ध विकास संस्थान (डीडीसी) बाट बेइमानी भएको छ । किसानबाट दूध उधारोमा लिने तर आफूले नगदमा व्यापार गर्ने र किसानलाई नतिर्ने भन्ने हुँदैन । यस्तो गर्न पाइँदैन,’ मन्त्री अधिकारीले भने, ‘किसानलाई सडकमा आउन दिनु भएन । किसानको बक्यौता जसरी पनि तिर्नुपर्छ ।’

असार मसान्तसम्म डीडीसीले किसानलाई तिर्नुपर्ने बक्यौता करिब १ अर्ब ४८ करोड थियो । साउन तेस्रो सातासम्म आइपुग्दा बक्यौता रकम झन्डै २ अर्ब पुगेको छ । यही बक्यौता रकम तिर्न डीडीसीले अर्थ मन्त्रालयसँग गुहार माग्दै आएको छ ।

उसले सस्तो ब्याजदरमा ६० करोड ऋण माग्दै आएको छ ।

‘ऋण तिर्नका लागि सरकारसँग पनि गुहार मागिराखेका छौं । मौज्दात रहेको दुग्ध पदार्थ सस्तोमा बिक्री गरेर भए पनि किसानलाई भुक्तानी गर्नुपर्छ भन्नेमा लागेका छौं । चाडबाड आउँदै छ, सस्तोमा बिक्री गर्छौं । स्वदेशी बजारसँगै अन्यत्रको पनि बजार खोज्छौं,’ उनले भने, ‘केही समयपछि किसानको समस्या समाधान हुन्छ ।’

किसान र संस्था बचाउन मन्त्रालय जे पनि गर्न तयार भएको मन्त्री अधिकारीले बताए । सुधार गर्नकै लागि मन्त्रालयका सहसचिवलाई डीडीसीको महाप्रबन्धकको जिम्मेवारी दिइएको उनले बताए ।

सम्बन्धित खबर