२०८१ माघ ३, बिहिवार , ०१:२७:४५ बजे

Sajhamanch
'

इलाममा ३४ करोड ८७ लाखमा बने ५९ कुलो

बिहिवार, साउन १७, २०८१

इलाम । इलाममा आर्थिक वर्ष २०८०/८१ मा ३४ करोड ८७ लाख १६ हजार ९३४ लागतमा ५९ वटा पक्की कुलो निर्माण भएका छन् ।

माङसेबुङ गाउँपालिका-१ गजुरमुखीका किसान आसमान योङहाङलाई यस वर्ष धानखेती गर्न कुनै समस्या भएन । वर्षौंदेखि अकासे खेतीमा निर्भर उनी यस वर्षदेखि सिँचाइ सुविधा पाएर दङ्ग छन् ।

गजुरमुखीमा साना सिँचाइ कार्यक्रमअन्तर्गत व्यवस्थित सिँचाइ कुलो निर्माणपछि योङहाङसहित सयौँ किसान यतिबेला खुसी भएका हुन् । उनको टोलमा ३९ लाख २१ हजारको लागतमा फुङखोलाबाट घुमाउरो पाक्रुम्बा कुलो निर्माण भएको हो ।

माईजोगमाई गाउँपालिका-२ लप्सीबोटेका किसान कुमार राई पनि खुसी छन् । राईगाउँ–लाप्चागाउँ-निगालेगाउँमा ५० लाख ५५ हजार ८८३ लागतमा ५८ घरपरिवारका किसान प्रत्यक्ष लाभान्वित हुनेगरी बजुरखोलामा कुलो निर्माण भएको छ ।

योङहाङ र राई प्रतिनिधि उदाहरण मात्र हुन् । इलामका विभिन्न पालिकामा सञ्चालितका साना सिँचाइ कार्यक्रमबाट हजारौँ किसान लाभान्वित भएका छन् ।

इलाममा आर्थिक वर्ष २०८०/८१ मा रु. ३४ करोड ८७ लाख १६ हजार ९३४ लागतमा ५९ वटा पक्की कुलो निर्माण भएका छन् ।

सूर्योदय नगरपालिकामा ४ करोड १९ लाख २६ हजार ६३४ को लागतमा १०, इलाम नगरपालिकामा ६ करोड ८६ लाख ५१ हजार ६४ को लागतमा नौ, माङसेबुङ गाउँपालिकामा ३ करोड ४२ लाख ९४ हजार ६६४ को लागतमा आठ, माई नगरपालिकामा ४ करोड ५ लाख ९८ हजार ४७५ को लागतमा सातवटा सिँचाइ योजना सम्पन्न भएको साना सिँचाइ कार्यक्रम प्रमुख केशव लामाले जानकारी दिए ।

योजनाबाट इलामका १ हजार २९ हेक्टर क्षेत्रमा सिँचाइ सुविधा विस्तार भएको छ । सिँचाइ सुविधा विस्तारसँगै जिल्लाका २ हजार १४२ परिवार लाभान्वित भएका छन् ।

योजना सञ्चालनका लागि स्वीस सरकारको ३० प्रतिशत, सङ्घीय सरकार, प्रदेश सरकार र सम्बन्धित पालिकाले २०र२० प्रतिशत र स्थानीय उपभोक्ताहरुको १० प्रतिशत लागत साझेदारी गरेको थियो ।

सम्बन्धित खबर