२०८१ माघ ३, बिहिवार , ११:४८:४५ बजे

Sajhamanch
'

ललितपुरका विभिन्न स्थान डुबानमा, २४ जनाको उद्धार

बुधवार, साउन १६, २०८१

काठमाडौं । गएरातिदेखिको अविरल वर्षाका कारण ललितपुरका विभिन्न क्षेत्र डुबानमा परेको छ।

ललितपुर प्रहरी परिसरका एसपी नरेशराज सुवेदीका अनुसार बाढीपहिरो र डुबानमा परेका क्षेत्रमा उद्धारका लागि बुधबार बिहान १ बजेदेखि प्रहरी परिचालन गरिएको थियो।

उनकाअनुसार अहिलेसम्म २४ जनाको उद्धार भएको छ। ३ जना बालक, ८ जना महिला र १३ जना पुरूषको विभिन्न ठाउँबाट उद्धार गरिएको र अझैपनि उद्धारको काम भइरहेको एसपी सुवेदीले बताए।

मनहरा खोलामा आएको बाढी ललितपुर महानगरपालिका-९ बालकुमारी च्यासलस्थित एमाले पार्टी कार्यालय र च्यासल फुटबल ग्राउण्डमा पसेको छ भने करिडोर क्षेत्र पनि डुबानमा परेको छ।

ललितपुर महानगरपालिका-२ सानेपा, वडा नम्बर ९ शंखमुल, वडा १ कुपन्डोल, महालक्ष्मी नगरपालिका-७ चाँगाथली लगायतका क्षेत्रमा बाढी पसेको छ।

अविरल वर्षाका कारण गएको पहिरोले बागमती गाउँपालिका-३ पाङ्दुरडोल र टार्कुचेमा पहिरो खस्दा कान्ती लोकमार्ग पुर्ण अवरूद्ध भएको छ। त्यस्तै महालक्ष्मी नगरपालिका-९ लाकुरीभञ्ज्याङको सिस्नेखर्कमा पहिरो जाँदा काभ्रे जाने बाटो अवरूद्ध भएको छ।

गोदावरी नगरपालिका-१ दमाइटार सातथलीमा खड्कनन्द दाहालले सञ्चालन गरेको फार्ममा बाढी पस्दा ४ सय कुखुरा मरेका छन्। वर्षाकै कारण महालक्ष्मी नगरपालिका-८ लुभुको तल्लो चौतारास्थित पिपलको बोट ढलेका कारण सडक अवरूद्ध भएको छ।

त्यहाँ पिपलको रूख डोजर लगाएर हटाउने काम भइरहेको एसपी सुवेदीले जानकारी दिए।

सम्बन्धित खबर