२०८१ माघ १२, शनिवार , ०७:३४:०४ बजे

Sajhamanch
'

गदाल, भट्टराई र लामिछानेलाई स्वर्गीय प्रमोद तामाङ स्मृति पुरस्कार दिइने

मङ्गलवार, साउन १५, २०८१

झापा । स्वर्गीय प्रमोद तामाङको स्मृतिमा नेपाल निजामती कर्मचारी संगठन झापा र राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाले हरेक वर्ष प्रदान गर्ने पुरस्कारका लागि तीन जनाको नाम आज सार्वजनिक गरेको छ ।

जसअनुसार सुशासन पत्रकारिता पुरस्कार दमकका मनकुमार गदाललाई प्रदान गरिने भएको छ भने उत्कृष्ट राष्ट्रसेवक सम्मान भद्रपुर नगर स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक मनोज भट्टराई र कोलेनिकाका लेखा अधिकृत कृष्णप्रसाद शर्मा लामिछाने पुरस्कृत हुने भएका छन् । आगामी भदौ १५ गते प्रमोद तामाङको स्मृति दिवसमा उक्त पुरस्कार वितरण हुने जनाइएको छ ।

शहीद मनोज–झपेन्द्र–सुरेन्द्र स्मृति दिवसको अवसरमा आज भद्रपुरमा आयोजित रक्तदान कार्यक्रम पछि पुरस्कृत व्यक्तित्वहरुको घोषणा गरिएको हो । नेपाल निजामती कर्मचारी संगठन झापा र राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा रक्तदान कार्यक्रम गरिएको हो ।

संगठनको कार्यालय परिसरमा नेपाल रेडक्रस सोसाइटी झापा शाखाको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ११ जना महिला र ६६ पुरूषले रक्तदान गरेका थिए । रक्तदानबाट ७७ पिन्ट रगत संकलन भएको संगठनका अध्यक्ष केदार पोख्रेलले जानकारी दिए ।

संगठनका जिल्ला अध्यक्ष पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि संगठन कोशी प्रदेश इन्चार्ज लक्ष्मीप्रसाद गुरागाईं, भद्रपुर नगर उपप्रमुख राधा कार्की, प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला, संगठनका पूर्वकेन्द्रीय उपाध्यक्ष देवराज कार्की लगायतले मन्तव्य राखेका थिए ।

राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष वशिष्ठ अधिकारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन संगठनका सचिव कृष्ण सुवेदीले गरेका थिए ।

सम्बन्धित खबर