२०८१ माघ ३, बिहिवार , ०९:०४:३८ बजे

Sajhamanch
'

प्रसिद्ध तीर्थस्थल पाथीभरामा ८ करोड भेटी मौज्दात

मङ्गलवार, साउन १५, २०८१

ताप्लेजुङ। ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुकमलुङ) मा सङ्कलन भएको रु. ८ करोड बढी भेटी रकम मौज्दात रहेको छ । पाथीभरा क्षेत्र विकास समितिको नाममा हालसम्म सङ्कलन भएको उक्त भेटी रकम मौज्दात रहेको हो ।

पाथीभरा क्षेत्र विकास समितिको वार्षिक प्रतिवेदनअनुसार हालसम्म कूल रु. ८ करोड १३ लाख ७९ हजार ३६३ भेटी रकम मौज्दात रहेको जनाइएको छ । समितिले पाथीभरा क्षेत्रमा विभिन्न संरचना निर्माण तथा भौतिक पूर्वाधार योजनामा भएको खर्च, कर्मचारी पारिश्रमिक र अन्य खर्च कटाएर भेटीवापत सङ्कलन भएको उक्त रकम समितिसँग मौज्दात रहेको समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले बताए ।

गत आर्थिक वर्ष २०८०/८१ मा सङ्कलन भएको भेटी रकम र विगतदेखिको बैंक मौज्दात तथा मौज्दात रकमको ब्याजसमेत असार मसान्तसम्ममा भेटीवापत कूल रु. १२ करोड ८० लाख ९९ हजार २५१ सङ्कलन भएको छ । सङ्कलित उक्त रकममध्ये गत आवमा रु. ४ करोड ६७ लाख १९ हजार ८८७ खर्च भएको कार्यकारी निर्देशक हाङ्बाङले जानकारी दिए । उनका अनुसार सम्पूर्ण खर्च कटाएर बाँकी रहेको रकम समितिसँग मौज्दात रहेको छ ।

समितिले पछिल्लो एक वर्ष अर्थात् गत आवमा मात्र रु. ३ करोड ९८ लाख ४१ हजार ३१५ भेटी रकम सङ्कलन गरेको छ । गत आवमा खर्च भएको रकममध्ये सेवा करारका ज्यालादारी जनशक्तिको पारिश्रमिकमा मात्र रु. ८४ लाख ९४ हजार ६२८ खर्च भएको छ ।

यसैगरी आन्तरिक आयव्ययबाहेक सरकारी अनुदानतर्फ रु. १ करोड ३९ लाख ३ हजार ११ आम्दानी भएको समितिले जनाएको छ । सरकारी अनुदानको बजेटबाट कार्यकारी निर्देशकको तलब सुविधामा रु. ६ लाख ३४ हजार २१२ खर्च भएको छ ।

सेवा करारका कर्मचारी पारिश्रमिक, कार्यालय व्यवस्थापन लगायतमा बजेट खर्च भएको छ भने तीर्थयात्री पदमार्ग, विश्रामस्थल निर्माण, खानेपानी, शौचालय व्यवस्थापन जस्ता भौतिक पूर्वाधारका योजनामा खर्च भएको निर्देशक हाङ्बाङले बताए ।

मङ्गलवार, साउन १५, २०८१ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर