काठमाडौं । काठमाडौं उपत्यकाको हाइकिङ स्पटहरूमा शृंखलाबद्ध लुटमा संलग्न गिरोहका मुख्य नाइकेलाई प्रहरीले सार्वजनिक गरेको छ ।
गिरोहका मुख्य नाइके हुन्, मकवानपुरको गढी गाउँपालिका–१, फुलबारी घर भएका धनबहादुर स्याङतान उर्फ ‘माइला’ ।
२०८० चैत २९ यता पटक–पटक उनको समूहले काठमाडौंको शिवपुरी, चम्पादेवी र नागार्जुन क्षेत्रमा हाइकिङ हिंडेकाहरूलाई लुटपाट गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले बताए ।
शनिबार लुटेर भाग्दै गरेको अवस्थामा उनी स्युचाटारबाट पक्राउ परेका हुन् । नागार्जुनको बिन्ध्यवासिनी जंगलमा लुटेर भाग्दै गरेको अवस्थामा प्रहरीले चेक प्वाइन्ट पक्राउ गरेको हो ।
हाइकिङ जानेहरूलाई लुट्नेमा धनबहादुरका छोरा, सालो र छिमेकीको पनि संलग्नता देखिएको छ । एसपी अधिकारी भन्छन्, ‘अरु संलग्नबारे अनुसन्धान गर्दैछौँ ।’
लुटेर संकलन गरेको ७ तोला ६४ लाल सुनका गहना, ४ तोलाको चाँदीको ब्रासलेट र १३ हजार नगद स्याङ्तानको साथबाट प्रहरीले बरामद गरेको छ । उनको समूहले हाइकिङ स्पटमा खुकुरी देखाएर गहना र मोबाइल लुट्ने गरेका थिए ।
लुट्न प्रयोग गरिएको दुई थान खुकुरी पनि बरामद गरिएको एसपी अधिकारीले जानकारी दिए । बुढानीलकण्ठस्थित तारेभिर, बागद्वार र गिरिजा शान्तिपार्क सडकबाट माइलाको समूहले १२ थान मोबाइल, सुन र दुईवटा घडी लुटेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
असार २८ मा तारेभिर जाँदै गरेका दुई जनालाई बन्धक बनाएर यातना दिएको पीडितहरूले बताएका छन् । बुढानीलकण्ठ नगरपालिका–३ मा एक जना किशोरीलाई माइलाले मोबाइल लुटेर बलात्कार प्रयास गरेको अनुसन्धानमा संलग्न एक जना अधिकृतले जानकारी दिए ।
असार १५ मा बिहान दक्षिणकाली नगरपालिका–५ स्थित चम्पादेवी मन्दिर नजिक लालबहादुर खड्का समेत ५ जनाबाट उनीहरूले ८ थान मोबाइल लुटेका थिए । चम्पादेवीबाट लुटेको १ थान मोबाइल बरामद गरिएको एसपी नवराज अधिकारीले बताए ।
११ वर्ष जेल बसेर निस्केपछि पुरानै धन्दा
ललितपुरको खोकनास्थित बालगृहमा लुटपाट गरेको आरोपमा माइला ११ वर्ष ६ महिना जेल परे । २०६९ मा उत्तम टमाटाले सञ्चालन गरेको बालगृहमा माइलाको समूहले पेस्तोल र खुकुरी देखाएर २ लाख ७६ हजार लुटेका हुन् ।
लुटपाट गरेर उनीहरूले पीडितलाई बलात्कारसमेत गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । नख्खु लुटपाट घटनामा उनी ११ वर्ष ६ महिना २४ दिन नख्खु कारागारमा बसेर छुटेको एसपी अधिकारीले बताए । एसपी अधिकारी भन्छन्, ‘जेलबाट छुटेपछि उनले पुरानै धन्दा थालेका हुन् ।’
२०८० चैत २९ मा चन्द्रागिरि नगरपालिकास्थित चाखेलमा इन्द्रकुमारी लामाले सञ्चालन गरेको टहरोमा पनि माइलाको समूहले १ लाख ७ हार नगद र गहना लुटेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
घटनास्थलमा भेटिएको मोबाइलमा प्रयोग भएको सिमकार्ड स्याङ्तानकी पत्नीको नाममा दर्ता रहेको भेटिएको एसपी अधिकारीले जानकारी दिए ।