२०८१ माघ ३, बिहिवार , ०४:३९:१५ बजे

Sajhamanch
'

धार्चे पहिरो : बेपत्तामध्ये एक जना मृत भेटिए

सोमवार, साउन १४, २०८१

गोरखा । धार्चे गाउँपालिका–५ गुम्दास्थित रेसे फााटमा आइतबार पहिरोमा परी बेपत्ता भएकामध्ये एक जना मृत भेटिएका छन् । पहिरोले बगाएको घरभन्दा करिब २०/२५ मिटरतल एक जनाको शव भेटिएको प्रहरीले जनाएको छ ।

शव पहिरोले पुरिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी रमेशकुमार श्रेष्ठले जानकारी दिए । ६० वर्षीय सुलाल कान्छा गुरुङको शव रहेको पनि प्रहरीले जनाएको छ । पहिरो स्थलमा एक जनाको शव भेटिएको र अहिले मुचुल्का उठाउने काम भइरहेको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले बताए ।

पहिरोमा परी बेपत्ता अन्यको भने खोजी भइरहेको उनले बताए । आइतबार बिहान करिब २ बजेतिर खसेको पहिरोमा परी ५ जना बेपत्ता भएका थिए । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले बेपत्ता बनेकाहरूको सोमबार बिहानैबाट खोजी भइरहेको छ ।

लेदो रहेको क्षेत्रफल ठूलो रहेकाले जेसीभीको सहायताले पनि बेपत्ताहरूको खोजी गरिएको छ । रेसे फााटमा गएको पहिरोमा परी घाइते बनेका दुई जनाको भने आइतबार नै उद्धार गरिएको छ ।

धार्चे गाउँपालिका–५ का सुलाल कान्छा गुरुङ, उनका छोरा जितबहादुर गुरुङ, बुहारी कान्छी गुरुङ, धार्चे–५ का रमेश गुरुङ र आरुघाट गाउँपालिकाका रमेश परियार बेपत्ता भएका थिए । बेपत्ता भएका ५ र घाइते दुई गरी सातैजना वाटर इनर्जी हाइड्रो पावरमा आबद्ध कर्मचारी, कामदार तथा निर्माण व्यवसायी रहेको धार्चे गाउँपालिकाले जनाएको छ ।

सम्बन्धित खबर