२०८१ पौष २७, शनिवार , ०५:२८:११ बजे

Sajhamanch
'

भद्रपुरका पूर्वफुटबलर खेलाडी गम्भीर राईको निधन

सोमवार, साउन १४, २०८१

बिर्तामोड । राष्ट्रिय पूर्वफुटबल खेलाडी गम्भीर राईको हृदयघातको कारण निधन भएको छ । भद्रपुर १० चन्द्रगढी बजार निवासी ५६ वर्षीय उनको उपचारको क्रममा निधन भएको हो ।

उनको बिएन्डसी अस्पताल बिर्तामोडमा आइतबार साँझ निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनी केही दिनदेखि बिरामी थिए । उनी लामो समयदेखि मधुमेह रोगको औषधि सेवन गरिरहेका थिए ।

२०२५ साल फागुन ५ गते जन्मिएका गम्भीर १४ वर्षकै उमेरदेखि फुटबल खेलमा प्रवेश गरेका थिए । उनी यु १६, यु १९ र नेपाल युथ फुटबल टिमको सदस्य पनि थिए ।

उनी एनआरटी, जनकपुर चुरोट कारखाना र मनाङ मर्स्याङ्दीजस्ता चर्चित क्लबमा आबद्ध रही अन्तर्राष्ट्रिय खेलमा तीन गोल पनि गरेका थिए ।

झापा जिल्ला फुटबल संघको उपाध्यक्ष र सदस्य पदको जिम्मेवारी सम्हालिसकेका उनले २०५६ सालबाट फुटबल खेलबाट संन्यास लिएका थिए ।

उनले स्थानीय क्लब मुनाल एफसीको प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका थिए भने भद्रपुर झापा गोल्डकपको युवा टिमको प्रशिक्षक थिए ।

फुटबल खेलको सुदृढीकरण र विकासमा महत्त्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै झापा गोल्डकपले २०७५ फागुन २५ गते र भद्रपुर झापा गोल्डकपले २०७९ फागुन १७ गते उनलाई लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानसमेत गरेका थिए ।

२०४२ सालदेखि विद्यालयस्तरीय फुटबल प्रतियोगिताबाट यस क्षेत्रमा लागेका राईले नेपालको विभिन्न ए डिभिजन क्लबमा आवद्ध रही धेरै प्रतियोगिता खेलेका थिए ।

उनले २०५२ सालमा न्युरोड टिम (एनआरटी) मा आवद्ध भएपछि मालदिभ्समा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका थिए । त्यस्तै, २०५३ सालमा यु १९ को उमेर समूहबाट थाइल्यान्डमा भएको प्रतियोगितामा सहभागिता जनाएर अन्तर्राष्ट्रिय तीन गोल गरेका थिए ।

२०७५ फागुनमा भारतको उडिसामा सम्पन्न हिरो कपमा नेपाली महिला फुटबल टिमको व्यवस्थापकको जिम्मेवारी सम्हालेका राई मुनाल क्लबका प्रशिक्षक थिए ।

सम्बन्धित खबर