२०८१ पौष २३, मङ्गलवार , ०२:२९:४२ बजे

Sajhamanch
'

भारतीय प्रधानमन्त्रीले तेस्रो कार्यकालको सय दिनमा नेपाललाई उपहार दिने

आइतवार, साउन १३, २०८१

काठमाडौं । जनकपुरदेखि भारतको अयोध्यासम्म रेल सञ्चालन गर्ने सम्पूर्ण तयारी पूरा भएको छ । यसको उद्घाटन मात्र गर्न बाँकी छ ।

नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा यसको उद्घाटन गर्ने तयारी भइरहेको छ । प्रधानमन्त्री प्रचण्ड रहेकै बेला यसको उद्घाटन गर्ने तयारी भएको थियो । तत्कालीन प्रधानमन्त्री प्रचण्डले पनि यसको सेड्युल मिलाउने तयारीमा लागेका थिए ।

जनकपुरबाट यसको उद्घाटन गर्ने कि जनकपुरको रेल चढेर अयोध्यासम्म गएरै उद्घाटन गर्ने भन्ने समय तालिका मिलाउने काम भइरहेको थियो । त्यतिकैमा प्रचण्ड नेतृत्वको सरकार परिवर्तन भयो ।

अहिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री छन् । उनी प्रधानमन्त्री बनेर आएपछि नयाँ ढङ्गले तयारी भइरहेको बताइएको छ । कसरी उद्घाटन गर्ने भन्नेमा प्रधानमन्त्री ओलीले तयारी थालेका छैनन् ।

स्रोतले भन्यो, ‘अयोध्या–जनकपुर रेल सेवा सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको छ । रेल्वे विभागले नेपाल सरकारमार्फत त्यसको तयारीबारे भारतलाई जानकारी गराइसकेको छ, अब त्यसको उद्घाटन कहिले गर्ने त्यसको टुङ्गो लागेको छैन ।’

प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो पनि छ । सोही निम्तोमा रेलको पनि उद्घाटन गर्ने पनि हुनसक्छ वा जनकपुर गएरै, नभए काठमाडौंबाटै पनि हरियो झण्डा देखाएर रेल सेवा सञ्चालन गर्न सकिने स्रोतको दाबी छ ।

त्यसमा दुवै देशको सरकारबीच संवाद जारी छ । सम्भवतः भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो तेस्रो कार्यकालको सय दिनको अवसरमा यो रेल सेवाको उद्घाटन गर्ने बताइएको छ । मोदीले प्रधानमन्त्री पदमा जेठ २७ गते शपथ लिएका थिए ।

त्यसका आधारमा भदौ १५ गतेसम्ममा अयोध्या–जनकपुर रेल सञ्चालन हुने सम्भावना रहेको बताइएको छ । रेल्वे विभागका अनुसार प्रत्येक शनिबार जनकपुरबाट १ः३० बजे अयोध्याका लागि रेल प्रस्थान हुनेछ ।

सो रेल आइतबार बिहान ४ बजे अयोध्या पुग्नेछ । त्यही दिन साँझ ५ बजे अयोध्याबाट प्रस्थान गर्ने रेल सोमबार बिहान ८ बजे जनकपुर आइपुग्ने विभागका महानिर्देशक निरञ्जन झाले बताए ।

भारतीय दूतावास स्रोतका अनुसार जनकपुरबाट सिधै दिल्लीका लागि रेल सञ्चालन गर्ने प्रस्ताव पनि गरिएको थियो तर, नेपालबाट त्यसको तयारी नपुगेका कारण अहिले त्यसलाई स्थगित गरिएको छ तर, चाँडै नै जनकपुरदेखि दिल्लीसम्म सिधै रेल सञ्चालन हुने दूतावास स्रोतको दाबी छ ।

अयोध्यादेखि जनकपुरसम्म चल्ने रेलमा २० वटा डब्बा हुनेछ । त्यसमा एसी क्लासदेखि स्लिपर तथा जनरल डब्बा पनि हुने बताइएको छ । जनकपुर–जयनगर रेल्वेको उद्घाटन २ अप्रिल २०२२ मा भएको थियो ।

दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा दिल्लीबाट त्यसको उद्घाटन गरेका थिए । अहिले त्यसलाई साप्ताहिक रूपमा भए पनि अयोध्या–जनकपुर गरिने भएको छ । पछि त्यसैलाई दिल्ली–जनकपुर गरिने बताइएको छ ।