धनकुटा । चर्चित पर्यटकीयस्थल धनकुटाको भेडेटारमा आजदेखि ‘स्काइवाक टावर’ सञ्चालनमा आएको छ । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारको चाल्स पोइन्टमा नेपालकै तेस्रो स्काइवाक टावर सञ्चालनमा आएको हो ।
टावरको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एक कार्यक्रमकाबीच उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा मुख्यमन्त्री कार्कीले भेडेटारलाई पर्यटकीय ‘हब’ बनाउन स्काइवाक टावरले सहयोग पुग्ने बताए। प्रदेश सरकारले आउँदो वर्षलाई पर्यटन वर्षका रूपमा मनाउन लागेकाले भेडेटारमा बनेको स्काइवाकले त्यसलाई टेवा पुर्याउने विश्वास व्यक्त गरे।
स्काइवाकमा ५० मिटर लामो सिसामा हिँड्न सकिन्छ । सिसामाथि हिँड्ने साहसिक मज्जा लिनका लागि देशकै तेस्रो गन्तव्य भेडेटार बनेको छ । यसअघि काठमाडौंको कमलादी र इलामको कन्याममा स्काएवाक सञ्चालनमा आएको छ । झन्डै २० करोड रुपैयाँको लागतमा भेडेटारमा सञ्चालनमा आएको स्काइवाकमा एक पटकमा २५ जनासम्म हिँड्न सक्ने कम्पनीले जनाएको छ ।