२०८१ माघ २, बुधवार , ११:३१:५१ बजे

Sajhamanch
'

‘विमान दुर्घटनामा निधन भएका परिवारलाई रोजगारी दिने सौर्य एयरलाइन्सको प्रतिबद्धता’

आइतवार, साउन १३, २०८१

काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा निधन भएका परिवारका सदस्यलाई सौर्य एयरलाइन्सले रोजगारी दिने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आइतबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै एयरलाइन्स व्यवस्थापनले परिवारका सदस्यलाई योग्यताअनुसार रोजगारी दिने प्रतिबद्धता जनाएको जानकारी दिएका हुन्।

यसैगरी मन्त्री पाण्डेले विमान दुर्घटनामा निधन भएकी प्रिजा खतिवडा पनि सौर्य एयरलाइन्समा कम्प्युटर अपरेटरका रूपमा पार्ट टाइममा काम गर्दै आएको बताए। एयरलाइन्सका प्राविधिक मनुराज शर्मासँगै उनकी श्रीमती प्रिजा खतिवडा र चार वर्षीय छोरा अधिराज शर्माले जहाज दुर्घटनामा ज्यान गुमाएका थिए।

खतिवडा ऊर्जा मन्त्रालयमा कम्प्युटर अप्रेटरका रूपका कार्यरत थिइन्। एयरलाइन्सले भने खतिवडा एयरलाइन्समा पनि पार्ट टाइम रूपमा कार्यरत रहेको जानकारी गराएको मन्त्री पाण्डेले बताए। बाबुआमा नै पोखरा जाँदा बालक अधिराजलाई घरमा हेर्ने मानिस कोही नभएकाले सँगै लान खोजेको जानकारी आएको पाण्डेले बताए।

आयोगले दुर्घटनास्थलको स्थलगत निरीक्षणका साथै ककपिट भ्वाइस रेकर्डरको समेत अध्ययन सुरु गरिसकेको जानकारी मन्त्री पाण्डेले दिए। यसैगरी दुर्घटनापछि मृतकका परिवारलाई बिमा लगाएतका क्षतिपूर्ति दिन सौर्य एयरलाई निर्देशन दिइसकेको पनि मन्त्री पाण्डेले दिए।

मन्त्री पाण्डेले हाल नेपालमा आन्तरिक उडानका यात्रा गर्ने यात्रुको दुर्घटना बिमान २० हजार डलरमात्रै रहेकाले त्यसलाई बढाउन आन्तरिक उडानका लागि बिमा व्यवस्था गर्ने विधेयक तर्जुमाका लागि कार्य अघि बढिसकेको जानकारी पनि दिए।

काठमाडौँको त्रिभुवन विमानस्थलबाट पोखराका लागि बुधबार उडेको सौर्यको विमान उडेको केही सेकेन्डमै दुर्घटना हुँदा एक यमनीसहित १८ जनाको निधन भएको थियो। दुर्घटनामा घाइते भएका पाइलट मनीषरत्न शाक्यको उपचार भइरहेको छ। यमनीबाहेक अन्य परिवारका सदस्यले शव बुझिसकेको मन्त्री पाण्डेले जानकारी दिए।

सरकारले दुर्घटनाका सम्बन्धमा छानबिन गर्न रतिशचन्द्र लाल सुमनको नेतृत्वमा ५ सदस्यीय आयोग गठन गरेको छ। आयोगलाई ४५ दिनको म्याद दिइएको छ।

मन्त्री पाण्डेले मन्त्रालयले छानबिन आयोगको कामलाई कुनै हस्तक्षेप नगर्ने बताए। उनले मन्त्रालय विभिन्न निकायहरूसँग छलफलमा रहेको जानकारी दिए। सांसदहरूले उठाएको प्रश्नका सन्दर्भमा मन्त्री पाण्डेले भने, ‘प्रश्नहरू गम्भीर छन्, प्रश्नहरूले हामीलाई घचघच्याएको छ।’

सम्बन्धित खबर