२०८१ माघ २, बुधवार , ०९:३२:५५ बजे

Sajhamanch
'

पहिरोमा परेकाहरूलाई उद्धारका लागि हेलिकप्टर पठाउन सरकारले विलम्ब गर्‍यो : राजेन्द्र बजगाई

आइतवार, साउन १३, २०८१

काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईले गोरखाको धार्चेमा गएको पहिरोमा परेकाहरूलाई उद्धारका लागि सरकारले विलम्ब गरेको बताएका छन्।

प्रतिनिधि सभाको आइतबारको बैठकमा आकस्मिक समयमा बोलेका सांसद बजगाईले धार्चे गाउँपालिका वडा नम्बर ५ सिङ्ला रेसेफाँटको पहिरोमा ५ जना बेपत्ता र २ जना घाइते रहेको बताए।

‘दुई जना घाइतेलाई उपचार गर्न हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ,’ उनले भने। पहिरोमा परेकाहरूको उद्धारका लागि नेपाल सरकारसँग हेलिकप्टर माग गर्दा विलम्ब गरेको उनले बताए।

‘गृह मन्त्रालयबाट हेलिकप्टर पठाउनका लागि विलम्ब गरियो। निजी कम्पनीको हेलिकप्टरबाट घाइतेको उद्धार गरियो,’ बजगाईले भने, ‘नुवाकोट र धादिङको आकाशमा प्रतिकूल मौसमका कारण नेपाली सेनाको हेलिकप्टर उड्न सकेन भनिएको थियो। तर निजी हेलिकप्टरले कसरी उडान गर्‍यो र उद्धार गर्‍योरु यसबारे गृहमन्त्रीसँग पनि प्रश्न गरेको छु। सरकारको पनि गम्भीर ध्यानाकर्षण भएको होला।’

उनले उद्धारमा विलम्ब गर्नेजस्ता त्रुटि आगामी दिनमा नगर्न पनि आग्रह गरेका छन्। रेसेफाँटमा गए राति लेदोसहित पहिरोले एक घर र एक कृषि फार्म पुर्दा एकै घरका तीन जनासहित पाँच जना बेपत्ता छन्।

सडक खनेको नान्सेन जंगलबाट लेदोसहित पहिरो गाउँ पसेको थियो। स्थानीय जितबहादुर गुरूङसहित उनको परिवारका तीन जनासहित पाँच जना बेपत्ता छन्।

एकै परिवारका जितबहादुर गुरूङ, उनकी श्रीमती कान्छीमाया गुरूङ, उनका बुवा सुलाल कान्छा गुरूङ बेपत्ता छन्। सोही गाउँका रमेश गुरूङ र रमेश परियार पनि बेपत्ता रहेको प्रहरीले जनाएको छ।

पहिरोमा परेका दुई जनालाई भने उद्धार गरिएको छ। सिङ्लाका दिलीप गुरुङ र छामबहादुर गुरुङलाई कैलाश एयरको हेलिकप्टरबाट उद्धार गरेर काठमाडौं ल्याइएको छ।

सम्बन्धित खबर