२०८१ कार्तिक १, बिहिवार , ०५:४५:३७ बजे

Sajhamanch
'

जनसंख्या घटिरहेकोमा रुस चिन्तित

शनिवार, साउन १२, २०८१

क्रेमलिनले शुक्रबार रुसमा घट्दो जन्मदर उल्ट्याउन ‘कडा मेहनत’ गरिरहेको बताएको छ। उसले ‘संकटपूर्ण’ जनसाङ्ख्यिकी प्रवृत्तिले मुलुकको भविष्यलाई जोखिममा पारिरहेको चेतावनी दिएको छ।सोभियत संघको पतनपछि रुसले वृद्ध जनसङ्ख्या, युक्रेनमा द्वन्द्वका कारण पुरुषहरूको बहिर्गमन र १७ वर्षमा सबैभन्दा कम प्रजनन दरजस्ता धेरै जनसाङ्ख्यिकीय चुनौतीहरूको सामना गर्नुपरेको छ।

‘अहिले यो धेरै न्यून स्तरमा छ अर्थात् प्रतिमहिला जन्म १.४. यो युरोपेली मुलुकहरू र जापान आदिको बराबर हो तर यो मुलुकको भविष्यका लागि संकटपूर्ण छ’, क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले मिडिया फेस्टिबलम भने, ‘धेरै बच्चा हुने जो कोही पनि नायक हुन्, हामी विश्वको सबैभन्दा ठूलो देशमा बस्छौँ र हरेक वर्ष हाम्रो सङ्ख्या कम भइरहेको छ, यसलाई सामना गर्ने एक मात्र तरिका भनेको जन्म दर बढाउनु हो।’

सन् १९९१ मा सोभियत सङ्घको विघटनको समयमा रुसको जनसङ्ख्या करिब १४ करोड ८० लाख थियो । यो सन् १९९० को दशकमा उच्च मृत्यु र कम जन्मको लामो अवधिपछि अहिले करिब १४ करोड ४० लाख भएको छ।राष्ट्रपति भ्लादिमिर पुटिनको सरकारले ठूला परिवारलाई उदार भुक्तान र धितो अनुदानको प्रस्ताव गरे पनि सोभियत कालदेखि मुलुकको जन्मदरमा सुधार हुनसकेको छैन।

हालका समस्याहरूमा ठूलो सङ्ख्यामा कोभिडबाट मृत्यु, युक्रेनमा लड्न परिचालन हुनबाट बच्न सन्तानसहित भाग्नु र सन् २०२३ मा १० वर्षको न्यूनस्तरमा रूसमा बसाइँ सर्नु समावेश छ।सन् २०४० को दशकसम्ममा रुसको जनसङ्ख्या १३ करोडसम्ममा झर्ने जनसाङ्ख्यिकी विशेषज्ञको अनुमान गरेका छन्।

‘दुर्भाग्यवश यो एउटा प्रवृत्ति हो’, पेसकोभले भने, ‘अवस्था केही समयका लागि कठिन रहनेछ तर सरकारले यो मुद्दामा कडा मेहनत गरिरहेको छ र यो रुसको राष्ट्रपतिको शीर्ष प्राथमिकताहरूमध्ये एक हो।’

सम्बन्धित खबर