२०८१ कार्तिक २, शुक्रवार , ०७:५२:४१ बजे

Sajhamanch
'

योजना आयोगको उपाध्यक्षमा अधिकारी र सरकारको मुख्यसचिवमा गड्तौला नियुक्त

बिहिवार, साउन १०, २०८१

काठमाडौं । मन्त्रिपरिषद् बैठकबाट राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा प्रा.डा. शिवराज अधिकारी र सरकारको मुख्यसचिवमा लीलादेवी गड्तौला नियुक्त भएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको उपाध्यक्षमा पाल्पाका अधिकारी र कायममुकायम मुख्यसचिव रहेकी गड्तौलालाई मुख्यसचिवमा नियुक्त गरेको हो ।

आयोगको सदस्यहरुमा महोत्तरीका डा. आरती बिच्छा, डा. रमेश सिंह, डा. प्रकाशकुमार श्रेष्ठ, गीताकुमारी पौडेल (अधिकारी), डा. जयबहादुर टण्डन र गंगादत्त अवस्थी नियुक्त भएका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बताए ।

उपाध्यक्ष नियुक्त भएका अधिकारी त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अर्थशास्त्र विभागका पूर्वप्रमुख हुन् । उनी चैत २०८० मा योजना आयोगको सदस्य नियुक्त भएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमा गड्तौलालाई मुख्यसचिव नियुक्त गर्ने निर्णय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ । नेपालको पहिलो महिला मुख्यसचिव बनेकी उनले ५८ वर्षे उमेर हदका कारण आगामी १५ भदौमा अवकाश पाउँदैछिन् ।

त्यसअघि करिब एक महिना बढी अवधि गड्तौलाले मुख्यसचिवका रुपमा कार्यभार सम्हाल्नेछिन् । ३१ असारमा बसेको केपी शर्मा ओली नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठकले निमित्त मुख्यसचिव रहेकी उनलाई कायममुकायम मुख्यसचिव बनाउने निर्णय गरेको थियो ।

सम्बन्धित खबर