२०८१ पौष २४, बुधवार , ०२:१८:४८ बजे

Sajhamanch
'

गर्मीले पाकिस्तानमा एक लाखभन्दा बढी विद्यालय बन्द

बिहिवार, साउन १०, २०८१

उच्च तापक्रमका कारण दक्षिणी पाकिस्तानमा विद्यालयहरूको गृष्मकालीन बिदा दुई सातासम्म लम्बिएको छ। यसबाट एक लाखभन्दा बढी विद्यालय प्रभावित भएका छन्।जलवायु परिवर्तनका कारण चरम मौसमी अवस्थाप्रति पाकिस्तान बढ्दो जोखिममा छ। जलवायु परिवर्तनका कारण तातो लहर र धेरै पटक चल्ने लु चल्ने गर्छ र मनसुन भारी र लामो समयसम्म हुन्छ।

सिन्ध प्रान्तका शिक्षा विभागका प्रवक्ता आतिफ भिघियोले भने, ‘हामीले बालबालिकाको हितका लागि विद्यालयहरूलाई थप १४ दिनका लागि बन्द गर्ने निर्णय गरेका छौँ।’नियोजित विद्युत् कटौती अर्थात लोडसेडिङ पाकिस्तानमा जारी विद्युत् आपूर्ति संकटको बारम्बार कारण बन्दछ। लोडसेडिङ सहरअनुसार फरक फरक हुन्छ तर सिन्ध प्रान्तका ग्रामीण क्षेत्रमा यो दिनमा १२ घण्टासम्म हुँदा विद्यालय पङ्खाबिना सञ्चालन भएका छन्।

‘एक शिक्षिकाका रूपमा मलाई पाठ्यक्रम कसरी पूरा गर्न सक्छु भन्ने चिन्ता हुन्छ तर एक आमाका रूपमा म यो गर्मीमा विद्यालय जाने बालबालिकाका बारेमा चिन्तित छु’, सार्वजनिक विद्यालयकी एक शिक्षिकाले भनिन्, ‘हामी गर्मीले मात्र नभई लोडसेडिङबाट चिन्तित छौँ।’

सरकारले दुई करोड ६० लाखभन्दा धेरै बालबालिका गरिबीका करण विद्यालयबाहिर रहेको जनाएको छ। सिन्ध प्रान्तका केही क्षेत्रमा ५० डिग्री सेल्सियसभन्दा बढी तापक्रम हुँदा पाकिस्तानले मे र जुनमा लुको सामना गर्नुपरेको थियो।

सबैभन्दा धेरै जनसङ्ख्या भएको पञ्जाब प्रान्तमा अधिकारीहरूले बालबालिकालाई प्रचण्ड गर्मीबाट बचाउन मे महिनामा गृष्मकालीन बिदा एक साताअघि शुरु गरेको थियो।संयुक्त राष्ट्रसंघ बाल एजेन्सी युनिसेफका अनुसार दक्षिण एसियामा तीन चौथाईभन्दा धेरै अर्थात् ४६ करोड बालबालिका प्रतिवर्ष कम्तीमा ८३ दिनका लागि ३५ डिग्री सेल्सियसभन्दा माथिको तापक्रमको सम्पर्कमा रहन्छन्।विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा एक प्रतिशतभन्दा पनि कम योगदान गरे पनि केही वर्षयता बदलिँदो मौसमी ढाँचाका कारण पाकिस्तानले मौसमसम्बन्धी गम्भीर प्रकोप भोगेको छ।एजेन्सी

सम्बन्धित खबर