
काठमाडौ । नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसँग शिष्टाचार भेट गरेका छन् । राजदूत श्रीवास्तवले मन्त्रालयमा पुगेर आज मंगलबार मन्त्री दाहालसँग भेट गरेका हुन् ।
मन्त्रालयमा राजदूत श्रीवास्तवलाई स्वागत गर्दै मन्त्री दाहालले नेपाल–भारतको सम्बन्ध प्राचीन र प्रगाढ रहेको बताए । भेटमा मन्त्री दाहालले शान्ति, समृद्धि र विकासका लागि दुई देशको सहकार्य आगामी दिनमा थप प्रगाढ बन्ने विश्वास समेत व्यक्त गरेका छन् ।
यस्तै मन्त्री दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रोपटक प्रधानमन्त्रीमा निर्वाचित हुनु भएकोमा बधाई दिँदै कार्यकाल सफलताको शुभकामना समेत व्यक्त गरेका छन् ।
त्यसक्रममा भारतीय राजदूत श्रीवास्तवले आर्थिक विकासका लागि पूर्वाधार निर्माण जरुरी भएकोले मन्त्री दाहालको कार्यकाल सफल रहने विश्वास व्यक्त गरेका थिए । विकासका विभिन्न आयाममा दुवै देशबीच सहकार्य रहँदै आएको स्मरण गर्दै राजदूत श्रीवास्तवले यसले निरन्तरता पाउनेसमेत बताएका थिए ।
राजदूत श्रीवास्तवले नेपाल भारत रेलमार्ग निर्माण र विस्तार दुवै देशका लागि जरुरी रहेको भन्दै नेपाललाई आवश्यक सहयोग गर्न भारत तयार रहेको पनि विश्वास दिलाए ।
जनकपुर–अयोध्या बस सेवा सञ्चालनको शुरुवात विगतमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको स्मरण गर्दै राजदूत श्रीवास्तवले रेल सेवा सञ्चालनले दुवै देशको पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुर्याउने बताए ।
राजदूत श्रीवास्तवलाई मन्त्री दाहालसहित मन्त्रालय सचिव गोपालप्रसाद सिग्देल, मन्त्री दाहालका सल्लाहकार हर्कराज राई लगायतले स्वागत गरेका थिए ।