२०८१ कार्तिक ३, शनिवार , ०१:२३:४४ बजे

Sajhamanch
'

नेपालमा महिला प्रधानमन्त्री बनेको हेर्न मन छ : कोइराला

बुधवार, साउन २, २०८१

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शशांक कोइरालाले आगामी दिनमा नेपालले महिला प्रधानमन्त्री पाउनेमा निश्चिन्त हुन आग्रह गरेका छन् । बुधवार काठमाडौँको धापासीमा नेपाल महिला संघ केन्द्रीय कार्यालयका लागि नयाँ भवन निर्माणको शिलान्यास गर्दै कोइरालाले नेपालमा महिला प्रधानमन्त्री बनेको हेर्न आफूले चाहेको बताएका हुन् ।

उनले महिलाहरूमा समाजलाई डोर्‍याउन सक्ने क्षमता हुने बताए । उनले महिलाहरूलाई हरेक कुरामा अघि सार्न जरुरी रहेको जिकिर गरे । आफूले अहिलेसम्म ४ पटक निर्वाचन जितेको र त्यो सबै महिलाहरूको साथ र सहयोगकै कारण जितेको उनको भनाई थियो । उनले महिलालाई हरेक क्षेत्रमा ५० प्रतिशत अधिकार दिनुपर्ने बताए ।

उनले भने, ‘४ पटक चुनाव जितेँ मैले आफ्नो क्षेत्रबाट, योगदान महिलाहरूकै थियो । महिलाहरूलाई उच्च सम्मान हामीले दिनुपर्छ । म आदरणीय शेरबहादुरजीलाई भन्छु ३३ प्रतिशत होइन, महिलाले ५० प्रतिशत पनि पाउनुपर्छ । तर तपाईँहरू सशक्त भूमिका निर्वाह गर्नुस् । घरमा बसेर चुलाचौका गर्ने होइन । नेतृत्व गर्न अगाडि बढ्नुस् । म चुनावमा जाँदा महिला अगाडि भयो भने ढोका खुल्छ, पुरुष भयो भने को आयो भनेर सोध्छ । ढोका खुलेपछि न कुरा गर्न सकिन्छ ।’

उनले थपे, ‘यो खालि बिल्डिङ बनेर मात्रै हुँदैन । यसको काम, कर्तव्य, अधिकार के छ रु महिलालाई कसरी आकर्षित गर्नुहुन्छ । महिलाहरूलाई जति आकर्षित गर्न सक्नुहुन्छ, त्यति हामी सफल हुन्छौँ । महिलाहरूलाई ब्याक बेन्च बनाएर हुँदैन, अगाडि सार्नुपर्छ । म त चाहन्छु की महिला प्रधानमन्त्री होस् भनेर । अब आउँदो दिनमा मलाई लाग्छ महिला प्रधानमन्त्री तपाईँहरूले पाउनु हुन्छ । महिला प्रधानमन्त्री भयो भने के हुन्छ भने पुरुषहरूको पनि नेतृत्व गर्ने क्षमता हुन्छ, समाजलाई डोर्‍याउन सक्छ । तर तपाईँहरू सक्षम बन्नुस् । चुलोमा बस्ने मात्रै होइन, समाजमा भिज्नुस् । समाजको त्रुटिलाई सुधार्नुस् । महिलासँग सम्पूर्ण जीवनको साँचो हुन्छ ।’

सम्बन्धित खबर