२०८१ पौष २३, मङ्गलवार , ०५:५२:२१ बजे

Sajhamanch
'

जनावरमैत्री जंगलका लागि पूर्वमुख्यमन्त्री कार्कीको नेतृत्वमा वृक्षारोपण अभियान

शनिवार, असार २९, २०८१

झापा । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीको नेतृत्वमा आज शनिबारदेखि हात्ती प्रभावित क्षेत्रका जंगलमा वृक्षारोपण अभियानको सुरुवात भएको छ । कार्कीले प्रजापति र जामुनबारी सामुदायिक वन क्षेत्रमा वृक्षारोपन गरेर ‘जनावरमैत्री जंगल’ अभियानको सुरुवात गरेका हुन् । अभियान अन्तर्गत जंगल क्षेत्रमा जंगली जनवारका लागि आवश्यक फलफूल तथा रुख बिरुवा रोप्न सुरू गरिएको हो ।

पूर्वमुख्यमन्त्री कार्कीको यस अभियानलाई सामाजिक कार्यमा सक्रिय लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ सी, लायन्स क्लव कनकाई, दुर्गापुर, बाल क्लब सञ्जाल, राजनीतिक दलका नेता तथा कार्यकर्ता, सामाजिक व्यक्तित्व, कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेल लगायत सामाजिक क्लब तथा युवाले साथ दिएका छन् ।

जसको जंगल, उसको मंगलको अवस्था निर्माणका लागि जनावरमैत्री जंगल बनाउन सबैलाई सहभागी बन्न पूर्वमुख्यमन्त्री कार्कीले अपिल पनि गरेका छन् । ‘जंगलमा बस्ने जनावरका लागि खाने रूख, बिरुवा, फलफूल नभएर बस्ती पस्न बाध्य छन्, जनावरमैत्री जंगल भएमा जंगल क्षेत्रका बासिन्दाले शान्तिपूर्ण जीवन गुजार्ने छन्, त्यसैले यो वृक्षारोपण कार्यक्रम सफल बनाउन सबैलाई आग्रह छ’ पूर्वमुख्यमन्त्री कार्कीको आह्वान छ ।

झापापछि मोरङ, सुनसरी र उदयपुरसम्मको जंगल क्षेत्रमा वृक्षारोपण अभियान सञ्चालन गरिने उनले जानकारी दिएका छन् ।