२०८१ पौष २३, मङ्गलवार , ०५:४०:४० बजे

Sajhamanch
'

झापाका ३९ हजार ४८८ जना बालबालिकालाई निरन्तर खोप लगाउने अवसर

शुक्रवार, असार २८, २०८१

भद्रपुर । झापा जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । भद्रपुरमा आज आयोजित ‘झापा जिल्ला पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा एवम् महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका सम्मानजनक बिदाइ कार्यक्रमका बीच झापा जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो ।

झापाले सरकारले तोकेको मापदण्ड पूरा गरेकाले पूर्णखोप सुनिश्चितता जिल्लाका रूपमा घोषित गरिएको हो । दोस्रो पटक जिल्ला खोप समन्वय समिति झापाले सरकारी सूचक पार गरेको ठहर गर्दै झापा जिल्लालाई पूर्णखोप सूनिश्चित जिल्ला घोषणा गरिएको हो ।

२०७५ साल असार २७ गते पहिलो पटक पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गरिएको बताउदै यो कार्य निरन्तर चलिरहने स्वास्थ्य प्रमुख बाह्रकोटीको भनाइ छ ।

झापाका १५ वटै स्थानीय तहबाट पूर्ण खोप प्राप्त गरेका ५ वर्ष मुनिका नियमित खोप छुट ६३४ बालबालिकासहित जम्मा १६ देखि ५९ महिनासम्मका ३९ हजार ४८८ जना बालबालिकालाई पूर्ण खोप लगाइएको बाराकोटीको भनाई छ ।

जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बरालले झापा जिल्ला पूर्ण खोप सुनिश्चित जिल्ला भएको घोषणा गरेका हुन् । उक्त घोषणापछि प्रतिवद्धता पत्रमा कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका स्वास्थ्य मन्त्री राजेन्द्र कार्की लगायतले हस्ताक्षर गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले पूर्ण खोप सुनिश्चित जिल्ला घोषणामा ग्रामीण क्षेत्रमा अहोरात्र क्रियाशील स्वास्थ्य स्वयम्सेविकाको भूमिका महत्वपूर्ण रहेको बताए ।

“स्वास्थ्य क्षेत्रमा महिला स्वयम्सेविकाको भूमिका महत्वपूर्ण छ”, उनले भने, “स्वस्थ्य समाज र राष्ट्र निर्माणमा उहाँहरुको योगदान उच्च छ ।”

स्वास्थ्य मन्त्री कार्कीले असार ३० गते कोशी प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषण गर्न लागिएको समेत जानकारी दिएका छन् ।

कार्यक्रममा जिसस प्रमुख विश्वनाथ बरालले महिला स्वास्थ्य स्वयम् सेविकाको पक्षमा तीनै तहको सरकारले विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । न्यून सेवा सुविधामा आमनागरिकको घरघरमा सेवा पुर्याउने स्वास्थ्य स्वयम्सेविकाको भूमिका उदाहरणीय भएको बरालको भनाई थियो ।

कार्यक्रममा ६० वर्ष पूरा भएका जिल्लाभरका २६ जना स्वास्थ्य स्वयम्सेविकालाई सम्मान–पत्रसहित बिदाइ गरिएको थियो । उनीहरुलाई जनही २० हजार रुपैयाँसहित सम्मान पत्र प्रदान गरिएको हो ।

यस्तै, खोप अभियानमा उत्कृष्ट कार्य गर्ने १५ जना स्वास्थ्यकर्मी र १५ वटा स्वास्थ्य संस्थालाई सम्मान गरियो भने १५ वटै पालिकालाई पूर्ण खोपको प्रमाण पत्र प्रदान गरिएको छ ।

सम्मानित सबैलाई प्रमुख अतिथि प्रदेश स्वास्थ्य मन्त्री कार्की, जिसस प्रमुख बराल, स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटी लगायतले सम्मान पत्र हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा खोप प्रगतिका बारेमा स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटी जानकारी गराए । बालबालिकालाई दुई वटा खोपबाट शुरु भएको अभियान हाल १३ वटा पुगेको र सरकारले निकट भविष्यमै पाठेघरको क्यान्सर विरुद्धको खोप लगायने लक्ष्य लिएको उनले बताए ।

स्वास्थ्य कार्यालय झापाका प्रमुख बाराकोटीले प्रतिवेदन प्रस्तुत गर्दै जिल्लाका २८७ वटा खोप केन्द्रबाट हरेक महिना ३३० खोप सेसनद्वारा निरन्तर खोप सेवा प्रदान गरिएको जानकारी गराए ।

कार्यक्रममा गौरीगञ्ज गाउँपालिकाका उपाध्यक्ष पुजन न्यौपाने कुवँर, अवकासप्राप्त स्वयम्सेविका रेश्मा विष्टले मन्तव्य राखेका थिए ।

जिसस प्रमुख बरालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत स्वास्थ्य कार्यालय झापाका खोप अधिकृत राजकुमार पोखरेलले र सञ्चालन कार्यालयका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले गरेका थिए ।

सम्बन्धित खबर