२०८१ पौष २६, शुक्रवार , ०२:२३:०० बजे

Sajhamanch
'

झापा प्रशासनमा अनुचित लेनदेनसम्बन्धी ८३ उजुरी दर्ता

बिहिवार, असार २७, २०८१

झापा । जिल्ला प्रशासन कार्यालय झापामा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी ८३ वटा उजुरी दर्ता भएका छन् ।

अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगले जिल्लामा सो सम्बन्धी निवेदन माग गरेपछि झापामा उक्त संख्यामा उजुरी दर्ता भएका हुन् ।

आयोगले पहिलोपटक सूचना सार्वजनिक गरेको मिति गत जेठ ११ गतेदेखि अहिलेसम्म ती उजुरी परेका सहायक प्रमुख जिल्ला अधिकारी चूडामणि चापागाइँले बताए ।

आयोगले उजुरी गर्ने अवधि थप गरी आउँदो साउन ४ गतेसम्म पुर्याएकाले उजुरी संख्या बढ्न सक्ने उनको अनुमान छ ।

सहायक प्रमुख जिल्ला अधिकारी चापागाइँले भने, ‘मेरो नेतृत्वमा जिल्ला प्रहरी कार्यालय र जिल्ला सरकारी वकील कार्यालयका प्रतिनिधि रहेको संयन्त्र गठन भएको छ, जसले आयोगले सूचना आह्वान गरेपछि परेका उजुरी उपर आवश्यक छलफल तथा फछ्र्यौट गर्नेछ ।’

उजुरी गर्ने म्याद अझै बाँकी नै रहेकाले अन्तिम म्याद सकिएपछि आयोगको निर्देशन बमोजिम संयन्त्रले काम गर्ने उनको भनाइ थियो ।

अन्य समयको उजुरीको स्थिति

अनुचित लेनदेनसम्बन्धी अन्य समय (२०८१ जेठ अघि) मा परेका ७७ वटा उजुरी जिल्ला प्रहरी कार्यालयमा पठाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयबाट आएका ७७ र प्रहरी कार्यालयमा दर्ता भएका १६ गरी ९३ उजुरीमध्ये २९ वटामा सहमति भएको प्रहरी निरीक्षक महेन्द्र पराजुलीले बताए ।

यसैगरी, १५ मुद्दा दर्ता भएको, १९ वटामा सहमति भई फछ्र्यौट भएको, ६ उजुरीका सम्बन्धमा विपक्षी छलफलमा उपस्थित नभएको, दुई उजुरीमा विपक्षीको यकिन ठेगाना नखुलेको, १३ उजुरी निवेदन प्राप्त हुनु अगावै अदालती प्रक्रियामा गएका र नौ उजुरी छलफल प्रक्रियामा नै रहेको उनले बताए ।

हालसम्ममा अनुचित लेनदेनमा रु. २ करोड ५७ लाख एक हजार नगद र एक बिघा १४ कठ्ठा ५ धुर जमिन फिर्ता गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित खबर