काठमाडौं । इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा पठाइने नेपाली सहायक कामदार (केयर गिभर) का लागि आवेदन दिने म्याद थप गरिएको छ ।
वैदेशिक रोजगार विभागले २०८१ साउन ११ गतेसम्म आवेदन दिने गरी म्याद थप गरेको हो । यसअघि साउन १ गतेसम्म आवेदन दिन आह्वान गरेको थियो ।
विभागले असार ११ गते सूचना जारी गर्दै आवेदन माग गरेको थियो । इजरायलले ८०० जना केयर गिभर माग गरेको थियो । सोही आधारमा विभागले सूचना जारी गरेको थियो ।
अंग्रेजी भाषा परीक्षाको जाँच दिइसकेपछि परिणाम प्राप्त गर्न समय लाग्ने भएकाले ब्रिटिस काउन्सिलबाट लिइने परीक्षाका लागि साउन १ गतेभित्र आफ्नो नाम र विवरणसहित दर्ता प्रणालीमा रजिस्ट्रेशन गराउन समेत आग्रह गरेको छ ।
इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा बच्चा, युवा तथा ६५ वर्ष ननाघेका गम्भीर अपाङ्गता भएका व्यक्तिका लागि स्याहार गर्न केयर गिभर माग गरेको थियो ।
केयर गिभरका लागि यो पटक ब्रिटिस काउन्सिलबाट कम्तीमा ए २ तहको अङ्ग्रेजी भाषा परीक्षा पास गरेको प्रमाणपत्र अनिवार्य गरिएको छ ।
यसअघि भने जुनसुकै निकायबाट अङ्ग्रेजी भाषा परीक्षा पास भएको प्रमाणपत्र पेश गरेको खण्डमा समेत मान्य हुँदै आएको थियो ।