२०८१ कार्तिक ४, आइतवार , ०९:३५:४९ बजे

Sajhamanch
'

झापामा डेंगु संक्रमित बढ्दै, हालसम्म १२३ बिरामी

बिहिवार, असार २७, २०८१

झापा । काठमाडौँपछि झापामा डेंगु संक्रमित धेरै, हालसम्म १२३ बिरामी असार अन्तिमसम्म आइपुग्दा झापामा डेंगु सङ्क्रमितको सङ्ख्या १२३ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौँपछि झापामा डेंगु संक्रमण देखिएको हो ।

पुसयता देशभर १ हजार ४८३ जनामा संक्रमण पुष्टि भएकोमा काठमाडौँमा सर्वाधिक १६५ जना र त्यसपछि झापामा १२३ जना संक्रमित देखिएका छन् । एक दशक अघिसम्म मनसुनपछि छिटपुट मात्र देखिने डेंगु अहिले मुलुकका ७७ जिल्लामै फैलिसकेको छ ।

वर्षभर नै देखिन थालेको डेंगु देशको कीटजन्य रोगको पहिलो सूचीमा परिसकेको छ भने संक्रमणको वृद्धिदर पनि तीव्र छ । असार अन्तिमसम्म आइपुग्दा मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेकका ७३ जिल्लामा डेंगुका संक्रमित भेटिएका छन् ।

गत वर्ष ७७ जिल्लामै संक्रमित फेला परेका थिए । तथ्यांकअनुसार २०८० पुस मसान्तसम्म ५२ हजार जनाभन्दा बढी संक्रमित भएका थिए भने २० जनाको ज्यान गएको थियो । सुनसरीसहित देशका विभिन्न १० जिल्लामा प्रकोपकै रूपमा फैलिएको थियो । कुल सङ्क्रमितको ८० प्रतिशतभन्दा बढी संक्रमित झापा ,सुनसरी, तनहुँ, कास्की, काठमाडौँ, मोरङ, सङ्खुवासभा, कैलाली, भक्तपुर र धादिङमा देखिएको थियो । २०७९ मा ५४ हजारभन्दा बढीलाई संक्रमित बनाएको डेंगुका कारण ८८ जनाले ज्यान गुमाएका थिए ।

जिल्लामा फाट्टफुट्ट डेंगु संक्रमित देखा परिरहेको स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाह्रकोटीले बताए । उनको रोकथामका लागि स्थानीय पालिकाहरूसँगको समन्वयमा अभिमुखीकरण तथा लामखुट्टेको लार्भा खोजी गरी नष्ट गर्ने कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिएका छन् ।

सम्बन्धित खबर