२०८१ पौष २५, बिहिवार , १०:०४:०४ बजे

Sajhamanch
'

युक्रेनविरुद्धको लडाइँमा मारिएका भारतीय नागरिकका परिवारलाई रुसी नागरिकता

बिहिवार, असार २७, २०८१

काठमाडौं । युक्रेनविरुद्धको लडाइँमा ज्यान गुमाएका भारतीय नागरिकका परिवारलाई रुस सरकारले राहत र नागरिकता दिने प्रक्रिया शुरु गरेको छ ।

बीबीसी हिन्दीका अनुसार एक परिवारले त रुसको नागरिकता लिन सहमति पनि जनाइसकेका छन् ।

भारत गुजरातका अश्विन भाइ मांगुकियाले बीबीसी हिन्दीसँग कुरा गर्दै भनेका छन्, ‘रुस सरकारले मेरो खातामा ४५ लाख रुपैयाँ पहिले नै जम्मा गरिदिएको छ । १.३ करोड रुपैयाँ राहतमध्ये बाँकी रकम पछि दिने भनेका छन् । यसै महिनाको १५ वा २० तारिखमा बाँकी रकम पाउने आश छ ।’

अश्विन भाई मांगुकियाका छोरा हेमिलको २१ फेब्रुअरीमा भएको मिसाइल आक्रमणमा मृत्यु भएको थियो । उनी २३ वर्षका थिए । उनलाई एक एजेण्टले झुक्याएर त्यहाँ पुर्याएका थिए । एजेण्टले उनलाई रुसी सेनामा हेल्परको नोकरी दिलाउने आश्वासन दिएका थिए ।

तर हेमिललाई अरु भारतीय नागरिकहरुलाई जस्तै युक्रेनविरुद्धको लडाइँको अग्रमोर्चामा खटाइएको थियो । हेमिलका बुवा अश्विनले रुसको नागरिकता स्वीकार गर्ने पनि बताएका छन् ।

किन ? भन्ने प्रश्नमा उनले भनेका छन्, ‘हाम्रो देशमा समस्या यो छ कि हामीले धेरै कमाउन सक्दैनौं । भ्रष्टाचारीको देश हो हाम्रो ।’

यसैगरी, हैदरावादका मोहम्मद अफसानका दाजु मोहम्मद इमरानले पनि बीबीसी हिन्दीसँगको कुराकानीमा अफसानका परिवारलाई रुस सरकारले राहत र नागरिकता दिने भनेका छन् ।

मोहम्मद इमरानले भनेका छन्, ‘कागजी प्रक्रियाका लागि रुस जानुपर्ने भएको छ । उनीहरुले अफसानकी श्रीमती र दुई बच्चालाई नागरिकता दिने भनेका छन् । अफसानका दुई वर्षको छोरा र एक वर्षकी छोरी छन् ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी गत सोमवार रुसको दुईदिने भ्रमणका लागि मस्को पुगेका थिए । त्यहाँ उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेर रुसी सेनामा भर्ती भएका भारतीय नागरिकहरुको सुरक्षाको विषयमा छलफल गरेका थिए ।

छलफलका क्रममा पुटिनले रुसी सेनामा भर्ती भएका भारतीयहरुलाई फर्काउन सहमति जनाएका भारतीय मिडियाहरुले लेखेका थिए ।

अहिले फेरि युक्रेनविरुद्धको लडाइँमा मारिएका भारतीय नागरिकका परिवारलाई राहत र रुसको नागरिकता दिने प्रक्रिया अघि बढाइएको खबरले भारतमा चर्चा पाइरहेको छ ।

सम्बन्धित खबर