२०८१ भदौ २२, शनिवार , १०:३३:४१ बजे

Sajhamanch
'

शाकिराले कोपा अमेरिकाको समापनमा प्रस्तुति दिने

बिहिवार, असार २७, २०८१

विश्वचर्चित कोलम्बियन पपस्टार शाकिरा पुनः जादू छर्न तयार छिन् । उनले अर्को एक खेल समारोहमा सांगीतिक प्रस्तुति दिने तय भएको छ । सन् २०२४ को कोपा अमेरिकाको समापन समारोहमा दर्शकले उनको गायकी देख्न पाउनेछन् ।

कनमेबोलद्वारा जारी वक्तव्यमा खेल इतिहासको सबैभन्दा पुरानो प्रतियोगितामध्येको एक कोपा अमेरिकाको फाइनलमा शाकिरा प्रस्तुति दिने पहिलो कलाकारको रुपमा हुने उल्लेख छ ।‘शाकिरा एक असाधारण दक्षिण अमेरिकी स्टार हुन्, जसले सारा संसारलाई चकित पारेकी छन्,’ कनमेबोलका अध्यक्ष अलेजान्ड्रो डोमिङ्ग्वेजले भनेका छन्, ‘उनका गीत ग्रहका सबै कुनामा गाइन्छ र नाचिन्छन् । उनको कला सिमाना पार गरेर लाखौं मानिसमा पुग्ने गरेको छ । हामी विश्वस्त छौं कोपा अमेरिका २०२४ को स्टेजमा उनको माध्यमबाट खेलमा जोश र एकताको सन्देशलाई बढावा दिनेछ ।’

शाकिरा नयाँ एल्बम ‘लास मुजेरेस या नो लोरान’ लाई लिएर नोभेम्बरदेखि विश्व भ्रमणमा निस्कने तयारीमा छिन् । उनीसँग उत्तर अमेरिकामा १४ वटा एरिना शो तय छन् ।४७ वर्षीया गायिका र गीतकारले सन् २०१० मा दक्षिण अफ्रिका र २००६ मा जर्मनीमा भएको विश्वकपका लागि थिम गीतहरू उपलब्ध गराएकी थिइन् । उनले २००६ को बर्लिनमा भएको विश्वकपको फाइनलमा ‘हिप्स डोन्ट लाइ’ गाइन् ।

चार वर्षपछि उनको आकर्षक गीत ‘वाका वाका दिस टाइम फर अफ्रिका’ सन् २०१० को विश्वकपको गान बन्यो । उनले ब्राजिलमा सम्पन्न सन् २०१४ को विश्वकपको गीत ‘ला ला ला’ पनि लेखिन् र गाइन् ।

कोपा अमेरिकाको फाइनल अमेरिकी समयानुसार नेपाली समयानुसार आगामी सोमबार बिहान पौने ६ बजे हुनेछ । फ्लोरिडाको मियामीस्थित हार्ड रक रंगशालामा हुने फाइनलमा ५४ हजारभन्दा बढी दर्शक सहभागी हुने अपेक्षा गरिएको छ ।

सम्बन्धित खबर