झापा । रुसी सेनामा भर्ती भएका भारतीय नागरिकलाई फिर्ता गर्न रुस सहमत भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
समाचारमा दाबी गरिएअनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अनुरोधमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन रुसी सेनामा भर्ती भएका भारतीयलाई फिर्ता गर्न सहमत भएका हुन् ।
दुई दिने भ्रमणका लागि मोदी सोमबार रुस पुगेका थिए । पुटिनसँग भएको भेटवार्तामा मोदीले रुसी सेनामा भर्ती भएका भारतीय नागरिकको सुरक्षाबारे छलफल गरेका थिए ।
सो क्रममा पुटिनले रुसी सेनामा रहेका भारतीय नागरिकलाई फर्काउन सहमति जनाएको र त्यो काममा सहजीकरण गर्ने बताएको स्रोतलाई उद्धृत गर्दै समाचार एजेन्सी एएनआईले जनाएको छ ।
हालै भारतीय विदेश मन्त्रालयले रुसी सेनामा कार्यरत चार भारतीय नागरिकको मृत्यु भएको तथ्यांक सार्वजनिक गरेको थियो । रुसी सेनामा दुई दर्जन बढी भारतीय नागरिक भर्ती भएको अनुमान छ । १० जना भारतीय नागरिक भने फर्किएका थिए ।
सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछिको मोदीको यो पहिलो रुस भ्रमण हो । त्यसअघि उनले सन् २०१९ मा रुसको भ्रमण गरेका थिए ।
रुस भारतमा तेल र हतियारको प्रमुख आपूर्तिकर्ता हो । यद्यपि पश्चिमा देशले रुसलाई प्रतिबन्ध लगाएको र चीनसँग रुसको बढ्दो निकटताले भारत–रुस सम्बन्धमा प्रभावित पार्नसक्ने चिन्ताबीच मोदीको यो भ्रमणलाई चासोका साथ हेरिएको छ ।