२०८१ कार्तिक ५, सोमवार , ०९:४९:५५ बजे

Sajhamanch
'

प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ : एमाले

आइतवार, असार २३, २०८१

काठमाडौं । नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्काल पदबाट राजीनामा दिनुपर्ने बताएको छ।

आइतबार बसेको संसदीय दल बैठकबाट एमालेले प्रधानमन्त्री दाहालले तत्काल राजीनामा दिनुपर्ने माग गरेको हो।

‘प्रधानमन्त्रीलाई तत्काल राजीनामा दिन हामीले अपिल गरेका छौं। हाम्रो पहिलो माग प्रधानमन्त्रीले आजै, अहिले भर्खर राजीनामा दिनुपर्छ भन्ने हो,’ प्रमुख सचेतक महेश बर्तौलाले भने, ‘उहाँले राजीनामा दिनु भएन भने असार २८ गते विश्वास मत लिने भन्नुभएको छ। उहाँले राजीनामा नदिए विश्वास मतको विपक्षमा एमालेले मतदान गर्छ।’ उनले राष्ट्रिय सहमतिको सरकार बनाउनका लागि मार्गप्रशस्न गरिदिन पनि एमालेले माग गरेको बताए।

‘सरकार अल्पमतमा परे पनि विभिन्न निर्णय गरिरहेको छ, यो सरकारले कुनै पनि निर्णय गर्ने हैसियत राख्दैन,’ उनले भने, ‘सरकारलाई कुनै पनि निर्णय नलिन पनि हाम्रो बैठकले सचेत गराएको छ।’

एमाले र जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै ती दलका मन्त्रीहरूले पनि पदबाट राजीनामा दिइसकेका छन्। नेपाली कांग्रेस र एमालेबीच गत असार १७ गते राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भएको थियो।

प्रधानमन्त्री दाहालले भने पदबाट राजीनामा नदिने बरू संसद फेस गर्ने बताइरहेका छन्। असार २८ गतेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री दाहालले विश्वास मतको प्रस्ताव पेस गर्ने तयारी गरेका छन्।

सम्बन्धित खबर