२०८१ माघ १२, शनिवार , ०६:१३:११ बजे

Sajhamanch
'

संविधानको धारा ७६ (२) बमोजिम ओली प्रधानमन्त्री बन्नुहुन्छ : कांग्रेस

शनिवार, असार २२, २०८१

काठमाडौं । नेपाली कांग्रेसले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने नयाँ सरकार नेपालको संविधानको धारा ७६ (२) बमोजिम बन्ने बताएको छ ।

शनिवार संसद् भवनमा बसेको पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका प्रमुख सचेतक रमेश लेखकले ओली नेतृत्वको सरकार नेपालको संविधानको धारा ७६ (२) बमोजिम बन्ने स्पष्ट पारेका हुन् ।

संविधानको धारा ७६ को २ मा सरकार गठन भइसकेपछि ७६ को २ बमोजिम नियुक्त हुनुहुने प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने र त्यो काम प्रधानमन्त्री पुष्पकमल दाहालले पूरा गरिसकेको उनले बताए ।

नेता लेखकले अहिलेको विश्वासको मतको प्रस्ताव धारा १०० बमोजिम विश्वासको मतको प्रस्ताव प्रस्तुत गर्नुपर्ने बताए ।

उनले राजनीतिक रूपमा कांग्रेस र एमाले नयाँ सरकार गठनका लागि सहमति गरेपछि स्वाभाविक रूपमा अहिलेको सरकारका विपक्षमा दुई तिहाइ भन्दा बढी मत भएपछि नयाँ सरकार गठन हुने बताए ।

नयाँ सरकार गठन हुन ७६ (३) मा जानु नपर्ने र ७६(२) अनुसार नै नयाँ सरकार गठन हुने उनले बताए । लेखकले प्रधानमन्त्री पुष्पकमल दाहालले असार २८ गते लिने विश्वासको मतको विपक्षमा पार्टीले मतदान गर्ने निर्णय गरेको पनि बताए ।

उनले बैठकले नेपाली कांग्रेस र नेकपा एमालेबीच यही असार १७ गते राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने सहमति भएको र आजको संसदीय दलको बैठकले नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सहमतिलाई समर्थन गरेको र स्वागत गरेको जिकिर गरे ।

सम्बन्धित खबर