२०८१ पौष २६, शुक्रवार , ०८:२१:०२ बजे

Sajhamanch
'

प्रचण्डको चकचक धेरै भइसकेको थियो : गगन थापा

बिहिवार, असार २०, २०८१

सुनसरी । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को अस्थिर चरित्र, चकचक, उपद्रो र नाफाघाटा गर्ने प्रवृत्तिले कांग्रेस र एमाले समीकरण गर्दै सरकार बनाउने अवस्थामा पुगेको बताएका छन् ।

इटहरीमा बिहीवार भएको कार्यक्रममा उनले २०८४ सालसम्म कांग्रेस प्रतिपक्षमै रहने आफ्नो इच्छाविपरीत कांग्रेस–एमालेबीच समीकरण बनेको र त्यो समीकरण बन्ने सहमति गर्दा आफू विदेशमा रहेको बताए ।

‘यहाँ सरकार परिवर्तनका बारेमा कुरा हुँदै गर्दा म कतारमा थिएँ । म त्यो कार्यक्रममा भन्दै थिएँ, २०८४ सालसम्म कांग्रेसले दायाँबायाँ केही पनि हेर्दैन, प्रतिपक्षमा बस्छ । एमाले–माओवादी–घन्टी को–को मिलेर सरकार चलाउने हो चलाऊ, हामी ०८४ मा आउने हो, एक्लै सरकार चलाउने हो । त्योचाहिँ मेरो चाहना थियो,’ थापाले भने, ‘एकाएक अहिले अनुमानले इच्छालाई जितेको अवस्था छ । अहिलेको अवस्था आउनुको मुख्य कारण भनेको पुष्पकमल दाहाल (प्रचण्ड) को अत्यन्त अस्थिर चरित्र, खाली नाफाघाटा हेर्ने पछिल्लो चरण बढेकाले यो स्थिति सिर्जना भयो । जसको कारण कांग्रेस र एमाले एक ठाउँमा आउने अवस्था बनेको छ ।’

पछिल्लो समय आफूहरूले कांग्रेस र एमालेबीच संवादको आवश्यकताबारे भने कुरा राखिरहेको उनले बताए । संविधानको प्रबन्धबारे केही पुनरावलोकन गर्न कांग्रेसलाई एमाले लगायत दलहरूको साथ चाहिने भएकाले संवाद आवश्यक परेको उनले बताए ।

अर्थतन्त्र सुधार गर्न पनि एमालेको साथ चाहिने थापाले बताए । ‘यो संवाद सरकार र प्रतिपक्षमै बसेर हुन्थ्यो होला प्रचण्डले धेरै चकचक नगरेको भए,’ उनले भने, ‘अब कांग्रेस र एमालेबीच नै सरकारमा सँगै बसेर संविधानका केही विषयमा पुनरावलोकन गर्ने अवस्था आयो ।’

प्रधानमन्त्री प्रचण्डले उपद्रो र चकचक गरेकाले स्वयं सम्हालिन नसकेको पनि थापाको भनाई थियो । ‘उहाँको उपद्रोबाट देउवा र ओली झुकिसक्नु भएको थियो, कोही झुक्न बाँकी थिएन,’ उनले भने, ‘चकचक यति धेरै भइसकेको थियो कि उहाँले सम्हाल्न सक्ने अवस्था थिएन ।’

सम्बन्धित खबर