२०८१ पौष २४, बुधवार , ०६:३०:५९ बजे

Sajhamanch
'

‘संघले मुख्यमन्त्रीहरुको भेलासमेत गर्न रोक लगाएर प्रदेशमाथि अन्याय गरिरहेको छ’ : मुख्यमन्त्री कार्की

आइतवार, असार १६, २०८१

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय सरकार प्रदेशलाई अधिकार दिन तयार नभएको दाबी गरेका छन् ।

प्रदेशको एकल अधिकारमा पनि संघीय सरकारले अंकुश लगाएको उनको गुनासो छ । आइतबार प्रदेश तहमा निर्मित कानुनको अध्ययन तथा समीक्षा प्रतिवेदन प्रस्तुतिकरण कार्यक्रममा मुख्यमन्त्री कार्कीले प्रदेशलाई अधिकार नदिने मनसाय संघीय सरकारमा देखिएको बताएका हुन् ।

‘एकल अधिकार दिनसमेत संघीय सरकार विभिन्न अंकुश लगाएर बसेको छ’ उनले भने, ‘अधिकार दिनु हुँदैन भन्ने मनसाय देखिन्छ ।’संघले मुख्यमन्त्रीहरुको भेलासमेत गर्न रोक लगाएर प्रदेशमाथि अन्याय गरिरहेको उनले बताए ।

केन्द्रिकृत मानसिकताका कारण प्रदेश सरकारप्रति प्रहार भइरहेको उनको भनाई छ । संविधान र कानुनले दिएका राजस्व बाँडफाँडजस्तो विषयमा समेत विभिन्न अड्चन झिकेर रोक्ने काम भएको बताउँदै उनले प्रदेशलाई बजेट दिन संघीय सरकारले आनाकानी गरेको गुनासो गरे ।

‘संघले हामीलाई खटाई खटाई खान दिएजस्तो गर्छ’ उनले भने, ‘यो तोडेर अगाडि नबढेसम्म प्रदेशका कानुन कार्यान्वयन गर्न र प्रदेशलाई समृद्ध बनाउन सकिदैन ।’

प्रदेशका कानुनहरु जनतामाझ नपुगेको गुनासोलाई सम्बोधन गर्ने मुख्यमन्त्री कार्कीले बताए ।