२०८१ माघ ११, शुक्रवार , १२:३३:४६ बजे

Sajhamanch
'

दक्षिण अफ्रिकालाई हराउँदै टी–२० विश्वकप क्रिकेटको उपाधि भारतलाई

आइतवार, असार १६, २०८१

कप्तान कप्तान रोहित र विराट कोहलीले लिए अन्तर्राष्ट्रिय टि–२० खेलबाट संन्यास

झापा । दक्षिण अफ्रिकालाई सात रनले हराएर भारतले टी–ट्वान्टी विश्वकपको उपाधि उचालेको छ । पूरै प्रतियोगितामा अपराजित रहँदै भारतले सानदार ढंगले टी–ट्वान्टी क्रिकेट विश्वकप २०२४ को उपाधि जितेको हो ।

भारतले टी–ट्वान्टी विश्वकपको उपाधि जितेको यो दोस्रो पटक हो । दक्षिण अफ्रिकाले पनि फाइनलसम्मको यात्रा अपराजित तय गरेको थियो, तर निर्णायक खेलमा चुक्यो ।

टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा १७६ रन बनाएको थियो । जितका लागि १७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा आठ विकेट गुमाएर १६९ रन मात्र बनाउन सक्यो ।

उसलाई अन्तिम ओभरमा जितका लागि १६ रन चाहिएकामा ८ रन मात्रै बनाउन सक्यो । २१ रन बनाएर खेलिरहेका डेविड मिलर हार्दिक पान्ड्याको बलिङमा सूर्यकुमार यादवले उत्कृष्ट क्याच लिएपछि भारतको जितको आधार तयार भएको थियो ।

दक्षिण अफ्रिकाको सुरुआत भने राम्रो रहेन । उसले १२ रन बनाउँदासम्म दुई विकेट गुमाइसकेको थियो । रेजा हेनरिक र कप्तान एडेन मारक्रम समान चार रन बनाएर आउट भए ।

त्यसपछिका सबै ब्याटरले गतिलो योगदान दिए । ओपनर क्विन्टन डी ककले ३१ बलमा ३९ रन बनाए, त्यसमा चार चौका र एक छक्का सामेल थियो । ट्रिस्टन स्टब्ले २१ बलमा ३१ रन जोडे । उनको ब्याटबाट तीन चौका र एक छक्का निस्केको थियो ।

दक्षिण अफ्रिकाका तर्फबाट हेनरिक क्लासेनले सर्वाधिक रन बनाए, उनले २७ बलमा ५२ रनको सानदार अर्धशतकीय इनिङ्स खेले । उनले आक्रामक ब्याटिङको नमूना पेस गर्दै दुई चौका र पाँच छक्का प्रहार गरेका थिए । उनको यसै प्रदर्शनले खेल दक्षिण अफ्रिकाको पक्षमा मोडिएको थियो । भारतीय बलरमध्ये हार्दिक पान्ड्याले तीन विकेट लिए ।

भारतका ओपनर कोहलीले मार्को जेनसनको पहिलो ओभरमै तीन चौका प्रहार गर्दै १५ रन जोडेका थिए । कप्तान रोहित शर्मालाई ९ र ऋषभ पन्तलाई शून्यमा गुमाएपछि भारत दबाबमा आएको थियो ।

भारतले सुरूआती दुई विकेट २३ रनमा गुमाएको थियो । लगत्तै सूर्यकुमार यादव पनि आउट भएपछि ३४ रनको स्कोरमा ३ विकेट गुमाउन पुगेको थियो ।

त्यसपछि लयमा आएका कोहलीले अक्षर पटेलसँग मिलेर ७४ रनको साझेदारी गरे । कोहलीले ५९ बलमा ७६ रन बनाए । पटेलले एक चौका र चार छक्का प्रहार गर्दै ३१ बलमा ४७ रन बनाए । उनी रनआउट भए ।

कोहलीले जोनसनकै बलमा विकेट गुमाउनु अगाडि ५९ बलमा ६ छक्का र दुई चौका आफ्नो नाममा लेखाएका थिए । उनले ४८ बलमा आफ्नो अर्धशतक पूरा गरे । शिवम दुबेले १६ बलमा २७ रन बनाए । उनले तीन चौका र एक छक्का प्रहार गरेका थिए । दक्षिण अफ्रिकी बलरमध्ये केशव महाराज र एनरिक नोकियाले दुई–दुई विकेट लिए ।

फाइनलमा अपराजित दुई टिमबीचको भिडन्त रोचक बनेको थियो । भारतले सन् २००७ को पहिलो संस्करणको विश्वकप जितेको थियो भने दक्षिण अफ्रिका पहिलो पटक यस विश्वकपको फाइनल खेलेको हो । भारतले अन्तिम पटक सन् २०१३ मा च्याम्पियन्स ट्रफी जितेको थियो ।

सन् १९९८ मा दक्षिण अफ्रिकाले च्याम्पियन्स ट्रफी जितेयता उपाधिविहीन रहँदै आएको छ ।

यसबीच भारतलाई विश्वकप उपाधि जिताएसँगै भारतीय कप्तान रोहित शर्मा र विराट कोहलीले अन्तर्राष्ट्रिय टि–२० खेलबाट संन्यास लिएको घोषणा गरेका छन् ।

हिजो शनिबारको खेलपछि भएको पत्रकार सम्मेलनमा कप्तान शर्माले ट्वान्टी–२० विश्वकपको फाइनल नै उनको टवान्टी–२० अन्तर्राष्ट्रिय करिअरको अन्तिम खेल भएको बताएका हुन् ।

रोहित शर्माले पत्रकार सम्मेलनमा भने, ‘यो मेरो अन्तिम प्रतिस्पर्धा थियो । मैले हरेक क्षणलाई प्रेम गरेको छु । म यही चाहन्थेँ । म भारतलाई विश्वकप जिताउन चाहन्थेँ ।’

रोहित शर्माले टेस्ट र एक दिवसीय क्रिकेट भने खेलिरहनेछन् । उनकै नेतृत्वमा भारतले १७ वर्षपछि विश्वकप उपाधि जित्न सफल भएको छ ।

अर्का भारतीय स्टार क्रिकेटर विराट कोहलीले पनि ट्वान्टी–२० अन्तर्राष्ट्रियबाट संन्यास लिएका छन् । भारतले विश्वकप उपाधि जितेसँगै कोहलीले पनि संन्यासको घोषणा गरेका हुन् ।

विश्वकप फाइनल खेलमा कोहलीको उत्कृष्ट प्रदर्शन रह्यो । दक्षिण अफ्रिका विरुद्ध भारतले १७६ रन बनाउँदा कोहली एक्लैले ५९ बलमा ७६ रन बनाए । उनी प्लेयर अफ द म्याचसमेत चुनिए ।

सम्बन्धित खबर