
बिर्तामोड । २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा अनुत्तीर्ण भएका सबै विद्यार्थीले मौका परीक्षा दिन पाउने भएका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सो परीक्षामा अनुत्तीर्ण भएका सबै विद्यार्थीलाई मौका परीक्षामा सामेल गराउने निर्णय गरेको छ । शुक्रवार बसेको शिक्षामन्त्रीस्तरीय बैठकले दुईभन्दा बढी विषय लागेका विद्यार्थीलाई पनि पूरक परीक्षामा सहभागी गराउने निर्णय गरेको हो ।
परीक्षा बोर्डको लेटर ग्रेडिङ निर्देशिकामा दुईभन्दा बढी विषय लागेका विद्यार्थीले मौका परीक्षा दिन नपाउने व्यवस्था छ । तर, यसपटकदेखि नै नयाँ प्रणाली लागू गरेकाले एकपटक सबै विद्यार्थीलाई मौका दिन यस्तो निर्णय गरिएको मन्त्रालयका प्रवक्ता केशव दाहालले बताए ।
“अब जतिवटा विषय लागेका विद्यार्थीले पनि मौका परीक्षा दिन पाउँछन्, यसको व्यवस्था मिलाउन मातहतका निकायलाई निर्देशन दिइएको छ” उनले भने, “यसका लागि लेटर ग्रेडिङ निर्देशिका पनि परिमार्जन गर्नुपर्छ, थप कोचिङ कक्षाहरु पनि आवश्यक छ ।”
बिहीवार प्रकाशित उक्त परीक्षाको नतिजाअनुसार १ लाख २६ हजार ४७९ विद्यार्थीलाई दुईभन्दा बढी विषय लागेको छ । यी सबैले मौका परीक्षा दिन मिल्ने व्यवस्था मन्त्रालयले मिलाएको हो ।