२०८१ माघ १३, आइतवार , ०७:४४:३५ बजे

Sajhamanch
'

नेपाल–चीनबीच परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोग बनाउने सहमति

बुधवार, असार १२, २०८१

काठमाडौं । नेपाल र चीनबीच परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोग बनाउने सहमति भएको छ । काठमाण्डौमा भएको नेपाल र चीनका परराष्ट्र मन्त्रालयबीचको कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठकमा मन्त्रीस्तरीय आयोग बनाउनेगरी सहमति भएको हो । नेपाल–भारत मन्त्रीस्तरीय संयन्त्र भने यसअघिदेखि नै क्रियाशील छ ।

कूटनीतिक परामर्श संयन्त्रको बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल र चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व चीनका उपविदेशमन्त्री सुन वेइतोङले गरेका थिए।

बैठकमा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्धका समग्र पक्षबारे समीक्षा हुनुका साथै विगतमा भएका सम्झौता र समझदारीपत्रको कार्यान्वयनमा भएको प्रगति तथा निर्णयहरुको मूल्याङ्कनसमेत गरिएको छ । आपसी सहमति भएका क्षेत्रमा आउँदा दिनमा सहयोगलाई थप प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गर्दै पारस्परिक लाभका लागि आर्थिक अवसर सिर्जना गर्न मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र सचिव लम्सालले सन् २०२६ मा नेपाल कम विकसित देशबाट स्तरोन्नति भएपछि विकास सहयोग अभिवृद्धि गर्न चिनियाँ पक्षको प्रतिबद्धताका लागि धन्यवाद व्यक्त गरेका छन् । उपविदेशमन्त्री वेइतोङले एक चीन सिद्धान्तप्रति नेपालको प्रतिबद्धताको प्रशंसा गरे।

त्यस्तै सन् २०२५ लाई नेपाल चीन भ्रमण वर्ष मनाउने सन्दर्भमा नेपालको पर्यटन सम्भावना प्रवर्द्धन, व्यापार, लगानी, पूर्वाधार विकास, कनेक्टिभिटी, कृषिलगायतका क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने उपायबारेसमेत छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । दुवै पक्षले सन् २०२५ मा नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवलाई विशेष कार्यक्रम र गतिविधिका साथ मनाउने निर्णय गरेका छन् ।

नेपालमा रहेका चीनका उपविदेशमन्त्री वेइतोङले आज राष्ट्रपति रामचन्द्र पौडेल र उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग छुट्टाछुट्टै शिष्टाचार भेट गर्ने कार्यक्रम छ । यसअघि उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गरेका थिए । सोमबार नेपाल आइपुगेको चिनियाँ उपविदेशमन्त्री नेतृत्वको टोली आज बेइजिङ फर्कदैछ ।

सम्बन्धित खबर