२०८१ माघ १२, शनिवार , ०३:३२:३६ बजे

Sajhamanch
'

गौरादहमा ‘‘समुदायमा अदालत कार्यक्रम’’ सम्पन्न

मङ्गलवार, असार ११, २०८१

गौरादह । झापाको गौरादह नगरपालिकामा समुदायमा अदालत कार्यक्रम सम्पन्न गरिएको छ ।

झापा जिल्ला अदालतका मुख्य न्यायाधीश अशोककुमार बस्नेतको प्रमुख आथित्यमा आज मंगलबार गौरादह नगरपालिकामा समुदायमा अदालत कार्यक्रम गरिएको हो ।

न्यायिक प्रक्रियामा नागरिकको पहुँच अभिवृद्धिका लागि झापा जिल्ला अदालतबाट “समुदायमा अदालत” कार्यक्रम संचालन गरिएको हो । न्यायमा पहुँच बढाउन यस्तो कार्यक्रम आयोजना गरिएको बताइएको छ ।

कार्यक्रममा जिल्ला अदालतका मुख्य न्यायाधीश बस्नेतले अदालतले प्रवाह गर्ने सेवा, सेवा प्रवाहको प्रक्रिया, निःशुल्क कानूनी सहायता, एसएमएस सेवा, अनलाइन तारेख, अदालतबाट १ घण्टाभित्र प्रवाह हुने सेवा, मुस्कानसहितको सेवा प्रवाह, मेलमिलाप आदि बारेमा सहभागीहरुलाई सहजीकरण गरेका थिए ।

न्यायाधीशसँगै बसेर न्यायपालिकाका विषयमा समस्या र गुनासा राखी न्याय प्रणालीलाई सहभागी मार्फत अभिभावकसम्म पुर्याउने लक्ष्यका साथ कार्यक्रममा अदालतप्रतिको जिज्ञासा र गुनासा माथि अन्तरसंवाद समेत गरियो ।


अदालतसँग समुदायको दोहोरो सम्वाद कार्यक्रमले अदालतप्रतिको भ्रम हटाउन महत्वपूर्ण भूमिका खेल्ने नगरप्रमुख छत्रपति सुवेदीको भनाई छ । यस्तै उपप्रमुख जलवर्षा राजवंशीले अदालतबाट हुने सेवा प्रवाह र प्रकृया बारे समुदाय सुसूचित भई न्यायमा पहुँच बढ्ने अपेक्षा सुनाइन् ।

यस्ता कार्यक्रमले सेवाग्राही र अदालत बीच सम्बन्ध सुमधुर हुने भएकोले कार्यसम्पादनमा सहज हुने पालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज खतिवडाले धारणा राखेका थिए ।

अदालतबाट समुदायले गरेको अपेक्षा बुझ्ने र अदालत प्रतिको भ्रम निवारण गरी जनविश्वास अभिवृद्धि गर्ने उद्देश्यका साथ “समुदायमा अदालत’’ कार्यक्रम सञ्चालन गरिएको झापा जिल्ला अदालतका शाखा अधिकृत रामचन्द्र बस्नेतले जानकारी दिएका छन् ।

कार्यक्रममा गौरादह नगरपालिकाका विभिन्न वडाका मेलमिलापकर्ता लगायत सरोकारवालाहरुको उपस्थिति थियो ।

सम्बन्धित खबर