काठमाडौं । नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको बैठक काठमाडौंमा जारी छ। बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव सेवा लम्साल र चीनका तर्फबाट उपविदेशमन्त्री सुन वेइतोङले गरेका छन्।
बिहान साढे १० बजेदेखि सुरु भएको प्रतिनिधिमण्डलस्तरीय वार्तामा नेपाल–चीन सम्बन्ध र सहयोगका समग्र पक्षका विषयमा छलफल भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
यसअघि संयन्त्रको बैठक २०७९ चैतमा बेइजिङमा भएको थियो। बैठकमा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध र सहयोगका समग्र क्षेत्रमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। यो संयन्त्रको सोह्रौं बैठक हो।
बैठकमा सहभागी हुन उपविदेशमन्त्री सुन सोमबार काठमाडौं आइसकेका छन्। सोमबार नै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन्।
बुधबारसम्म नेपालमा रहने सुनले राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि भेट्ने कार्यक्रम रहेको छ।