झापा । उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका गरी कम्तीमा ४६ स्थानीय तहले तोकिएको अवधिमा बजेट ल्याउन सकेनन् ।
नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघका अनुसार सोमबार अबेरसम्म प्राप्त तथ्यांकअनुसार कम्तीमा ४६ पालिकाले बजेट ल्याएका छैनन् ।
तीन उपमहानगरपालिका, १४ नगरपालिका र २९ गाउँपालिकाले बजेट नल्याएको उल्लेख छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ को उपदफा १ अनुसार उपाध्यक्ष, उपप्रमुख वा कार्यपालिकाले आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान कार्यपालिकाबाट स्वीकृत गराई असार १० गतेभित्र सभामा पेस गर्नुपर्छ । उपदफा ६ अनुसार भने सभाले उपदफा १ वा ५ बमोजिम पेस भएको बजेट असार मसान्तभित्र पारित गरिसक्नुपर्नेछ ।
जनप्रतिनिधिबीच विवाद, प्रमुख प्रशासकीय अधिकृत रिक्त, बजेट विनियोजनमा विवादजस्ता कारणले केही तहमा बजेट नआएको हो । केही स्थानीय तहका प्रमुख र उपप्रमुख निलम्बन हुनुले पनि समयमै बजेट आउन नसकेको अवस्था छ ।