झापा । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दक्षिणी गाजाको रफाह शहरमा हमासविरुद्ध चलिरहेको युद्ध चाँडै अन्त्य हुने बताएका छन् ।
इजरायली च्यानल १४ टीभी न्युजसँगको कुराकानीमा प्रधानमन्त्री नेतान्याहुले रफाहको युद्ध अन्तिम चरणमा पुगेको बताएको बीबीसीले जनाएको छ । उनले हमासलाई सत्ताबाट नहटाएसम्म युद्ध चलिरहने पनि बताएको छ ।
इजरायलविरुद्धको आक्रमणमा हमासलाई साथ दिइरहेको हिजबुल्लाह समूहको आक्रमणको बीचमा प्रधानमन्त्री नेतान्याहुले छिट्टै लेबनानी सीमामा इजरायली सेना पठाउन सक्षम हुने पनि बताएको छ । उनले हमासको ठाउँमा वेस्ट बैंकमा रहेको प्यालेस्टिनी ‘अथोरिटी’ लाई गाजामा प्रशासन सञ्चालन गर्न दिने विचारलाई फेरि खारेज गरेका छन् ।
नेतान्याहुले उत्तरी गाजा पट्टीमा सत्ताबाट हमासलाई हटाउने र प्यालेस्टिनी ‘एन्क्लेभ’मा रहेका झन्डै १०० जना बन्धकलाई रिहा गर्ने सम्झौतामा मात्र सहमत हुने बताएको छ ।
यसैबीच रफाहवासीले इजरायली सेनाले आक्रमण बढाएको र आक्रमणबाट राहत सामग्री केन्द्रमा समेत क्षति पुगेको बताएका छन् । हमासले यी केन्द्रको प्रयोग गर्दै आएको इजरायली सेनाको भनाइ छ ।