२०८१ पौष २८, आइतवार , ११:५१:५९ बजे

Sajhamanch
'

भद्रपुर नगरपालिकाको नीति तथा कार्यक्रमसहित बजेट पारित

सोमवार, असार १०, २०८१

भद्रपुर । भद्रपुर नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम र बजेट नगरसभाले सर्वसम्मत स्वीकृत गरेको छ ।

नगरप्रमुख गणेश पोखरेलद्वारा प्रस्तुत नीति तथा कार्यक्रम तथा उपप्रमुख राधा कार्कीद्वारा पेश गरिएको वार्षिक आय–व्यय समेटिएको बजेट नगरसभाले अनुमोदन गरेको हो ।

आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि भद्रपुर नगरपालिकाले ९९ करोड २ लाख १९ हजार रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको छ । नगरपालिकाको १४औं नगरसभाले स्वीकृत गरेको नीति तथा कार्यक्रममा नगर उपप्रमुख राधा कार्कीले चालू आर्थिक वर्षकै हाराहारीको बजेट प्रस्तुत गरेकी थिइन् ।

चालू आर्थिक २०८०/०८१ मा ९८ करोड ३१ लाख ४६ हजार रुपैयाँको बजेट रहेकोमा आगामी आर्थिक वर्ष ७ लाख ७३ हजार बढाएर अनुमानित बजेट ल्याइएको उपप्रमुख कार्कीले जानकारी दिइन् ।

आगामी आर्थिक वर्षको अनुमानित बजेटमा आर्थिक विकासतर्फ ४ करोड ९० लाख ३३ हजार, सामाजिक विकासतर्फ ३७ करोड ७४ लाख ४६ हजार, वातावरण तथा विपद् व्यवस्थापनतर्फ २ करोड ५५ लाख छुट्याइएको छ ।

यस्तै, संस्थागत विकास/सेवा प्रवाह/सूचना प्रविधि विकास तथा कार्यालय सञ्चालनतर्फ १४ करोड ४७ लाख र पूर्वाधार विकासतर्फ ३९ करोड ३५ लाख ५४ हजार गरी ९९ करोड २ लाख १९ हजार रुपैयाँ बराबरको अनुमानित बजेट उपप्रमुख कार्कीले प्रस्तुत गरेकी थिइन् ।

प्रस्तुत अनुमानित बजेट खर्च व्यहोर्ने स्रोतमध्ये नगरपालिकाको आन्तरिक आय ५ करोड १५ लाख, योजनामा जनसहभागिताबाट २ करोड ७ लाख, राजश्व बाँडफाँडतर्फ संघबाट १२ करोड ६८ लाख ६२ हजार, प्रदेशबाट ८० लाख, स्थानीयबाट ४ करोड ६३ लाख ५३ हजार गरी राजश्व बाँडफाँडबाट जम्मा १८ करोड १२ लाख १५ हजार आम्दानी हुने प्रक्षेपक्ष गरिएको छ ।

यस्तै, संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण अनुदानबाट २१ करोड ३४ लाख ८५ हजार, समपूरक अनुदानबाट २ करोड, सशर्त अनुदानबाट २९ करोड १५ लाख २३ हजार, विशेष अनुदानबाट २ करोड ५० लाख गरी वित्तीय हस्तान्तरणबाट प्राप्त जम्मा ४५ करोड ८ हजार रहेको बजेट वक्तब्यमा उल्लेख छ ।

सम्बन्धित खबर