२०८१ माघ २१, सोमवार , १०:५१:४१ बजे

Sajhamanch
'

गाजामा खाना र पानीको अभावका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर

आइतवार, असार ९, २०८१

झापा । इजरायलले आक्रमण गरिरहेको गाजामा खाना र पानीको अभावले बालबालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको छ । ४० डिग्री सेल्सियस आसपासको गर्मी, सीमित खानेकुरा र पानीको चरम अभावले बालबालिकामा कुपोषणसहित विभिन्न समस्या देखिएका बीबीसीले जनाएको छ ।

बीबीसीले प्रकाशन गरेको रिपोर्टमा एक जना बालककी आमा गनिमा जुमाले यसअघि आफ्नो छोराको स्वास्थ्य अवस्था निकै राम्रो रहेकोमा खाना र पानीको अभावसँगै अहिले अस्पतालमा भर्ना गर्नुपर्ने अवस्थामा पुगेको बताएको छ । उनका अनुसार बालबालिका पानीकै लागि टाढा–टाढासम्म यात्रा गर्छन् । कतै भेटिए पनि खुला भाँडामा टाढादेखि ल्याउँदा पानी फोहोर हुन्छ ।

इजारयल–गाजा युद्धमा घर ध्वस्त भएका कारण लाखौँ मानिस विस्थापित भएका छन् । उनीहरू अस्थायी शिविरमा बसिरहेका छन् । जहाँ तातो घामबाट उनीहरूलाई खासै सुरक्षा छैन । सफा वा प्रदूषित पानी पाउन गाजामा निकै सङ्घर्ष गर्नुपर्छ । वितरण केन्द्रमा लामो लाइन हुने गर्छ । ढल प्रणालीमा नराम्रो क्षति भएपछि र थोरै मात्र शौचालयका कारण त्यहाँको पानी सहजै प्रदूषित हुने गर्छ ।

गाजामा हरेक व्यक्तिको आन्द्रामा सङ्क्रमण देखिन थालेको र त्यो प्रदूषित पानीका कारण रहेको नासेर अस्पतालका बालबालिका विभागका प्रमुख डाक्टर अहमद अल–फारीले बताउनुभएको बीबीसीले जनाएको छ । इजरायलले भने बालबालिकाले खाना र पानी नपाएको कुरालाई अस्वीकार गरेको छ ।