२०८१ पौष २६, शुक्रवार , ०५:३७:४६ बजे

Sajhamanch
'

२०८१ बिर्तामोड नगरको शैक्षिक उपलब्धि वृद्धि वर्ष : शैक्षिक गतिविधि तीव्र गतिमा अघि बढ्दै

शनिवार, असार ८, २०८१

बिर्तामोड । बिर्तामोड नगरपालिकाले वर्ष २०८१ लाई शैक्षिक उपलब्धि वृद्धि वर्षको रुपमा घोषणा गरेपछि विभिन्न शैक्षिक गतिविधिहरु तीव्र गतिमा सञ्चालन हुन थालेका छन् ।

यसै वर्षको सुरुवातमै बिर्तामोडको शिक्षा शाखाले बिर्तामोड नगर क्षेत्रभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा अध्यापन गराउने विषयगत शिक्षकहरूको पहिलो नगर सम्मेलन मार्फत गठन गरिएका विषयगत समितिहरु सक्रिय हुन थालेका छन् ।

उक्त सम्मेलनले पाँचवटा विषयगत समितिहरु गठन गरेको थियो । गठित समितिहरूमा अंग्रेजी, नेपाली, विज्ञान, गणित र सामाजिक समितिहरू छन् ।

सोही अवसरमा शिक्षक तथा विद्यालयहरूले २१ बुँदे प्रतिबद्धता पत्रमा समेत हस्ताक्षर गरेपछि विषयगत समितिहरूले आ–आफ्ना क्रियाकलाप अगाडि बढाएका हुन् ।

यसै क्रममा अंग्रेजी विषय समितिले शुक्रवार बिर्तामोडस्थित महेन्द्ररत्न माविको तालिम हलमा अंग्रेजी विषयक एक दिने अन्तक्र्रिया तथा कार्यशाला सञ्चालन गरेको थियो ।

कार्यशालामा बिर्तामोड नगर क्षेत्रका संस्थागत तथा सामुदायिक विद्यालयका ४० जना शिक्षकहरू सहभागी थिए ।

नगरपालिकाले शैक्षिक क्षेत्रमा संस्थागत र सामुदायिक विद्यालयहरूलाई एकैसाथ लिएर अगाडि बढ्ने नीति अवलम्बन गरेपछि दुवै विद्यालयका शिक्षकहरु लाभान्वित भएका छन् ।

शुक्रवार सञ्चालित कार्यशालामा शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख एवं उपसचिव तिल्चन भण्डारीले नगरको समग्र शैक्षिक अवस्थालाई सुधार गर्न विषयगत समिति गठन गरी सक्रिय बनाइएको जानकारी दिए ।

उनले यसवर्ष सिकाई उपलब्धिलाई वृद्धि गरी शैक्षिक गुणस्तर कायम गर्न बिर्तामोड नगरपालिका शिक्षा शाखा तथा सम्पूर्ण विद्यालयहरू लागिपरिरहेको बताए ।

कार्यशालालाई बिर्तामोड नगरस्तरीय विषयगत समिति सञ्जालका सदस्य धर्मेन्द्र भट्टराई, अंग्रेजी विषयगत समितिका संयोजक लक्ष्मण शिवाकोटी र सदस्य केशव उप्रेतीले सहजीकरण गरेका थिए ।

कार्यशालामा शिक्षण सिकाईसम्बन्धी सीप, प्रश्न गर्ने तरिका एवं प्रश्न निर्माण गर्ने तरिका र परियोजना कार्यलाई मूल्यांकन गर्ने तरिकाबारे छलफल गरिएको थियो ।

कार्यक्रममा नगरस्तरीय विषयगत सञ्जालका सदस्य लीलाप्रसाद भण्डारी, शिक्षक महासंघ बिर्तामोडका अध्यक्ष युवराज कट्टेल, महेन्द्ररत्न मावि बिर्ता बजारका प्रधानाध्यापक खड्गप्रसाद खरेल, न्यूटन्स एजुकेशन एकाडेमीका प्रिन्सिपल देवेन्द्र हुमागाईं लगायतको उपस्थिति थियो ।

यसअघि नेपाली विषयगत समिति र विज्ञान विषय समितिले पनि नगरका शिक्षकहरूका लागि तालिम कार्यक्रमको आयोजना गरेका थिए । बिर्तामोड नगरपालिकाले विषयगत समितिहरू मार्फत शैक्षिक क्रियाकलापलाई गतिशील बनाउन महत्वपूर्ण योगदान हुने विश्वास लिएको छ ।

सम्बन्धित खबर