२०८१ पौष २५, बिहिवार , ०३:३४:१३ बजे

Sajhamanch
'

कर्णाली साकोसका बजार प्रतिनिधिहरुले लिए उत्प्रेरणा तालिम

बिहिवार, असार ६, २०८१

बिर्तामोड । कर्णाली बचत तथा ऋण सहकारी संस्थाले मनोशक्ति, सकारात्मक सोच तथा माटो बचाउ राष्ट्रिय अभियानबारे बजार प्रतिनिधि तथा रिेसेप्सनिस्टहरुका लागि एक दिने उत्प्रेरणामूलक तालिम सञ्चालन गरेको छ ।

माइण्ड पावर एण्ड करियर डेभलपमेन्ट इन्टरनेशनल ट्रेनिङ प्रालिको प्राविधिक सहयोगमा बिहीवार बिर्तामोडमा उक्त तालिम भएको हो ।

एक दिवशीय सो तालिमको सहजीकरण गर्दै प्रशिक्षक बीपी रेग्मीले जीवन र जगतका विषयमा केन्द्रीत रहेर त्यसप्रति आफ्नो बुझाइ र भोगाइ अभिव्यक्त गरेका थिए ।

“काम थाल्नु अघि नै म यो सक्दै सक्दिन, मबाट हुँदै हुँदैन भन्दै पन्छिने बानीले आफैंलाई हानी गर्छ” प्रशिक्षक रेग्मीले भने, “काम शुरु नगरी हामी हरेश खान्छौं, बहाना बनाउँछौँ, बहानाले सधैं पछि परिन्छ, बहानालाई चाहनामा बदल्ने आँट गर्नुपर्छ, अनि मात्र सफल भइन्छ ।”

जीवनमा असम्भव भन्ने केही पनि नहुने भन्दै उनले लक्ष्य पूरा गर्न तीव्र इच्छाशक्ति र दृढ संकल्प मात्र भए पुग्ने दाबी गरे ।

“संकल्पको विकल्प अरु केही हुनै सक्दैन, संकल्पको विकल्प मात्र संकल्प हुन्छ” सहभागीलाई उत्प्रेरणा जगाउँदै उनले थपे, “म गर्न सक्छु भनेर आँट गर्नुपर्छ, हिम्मत लिनुपर्छ, यति गरेपछि नहुने के छ र ?”

कुनै कामका लागि आफूमा संकल्प छ कि छैन, त्यो नै महत्वपूर्ण कुरा हुने बताउँदै सहजकर्ता रेग्मीले होला कि नहोला भन्दै शंकाको घेरामा परेको व्यक्तिको जिन्दगी सधैं अरु कसैको हातमा हुने ठोकुवा गरे ।

कर्णालीले झापामा अगुवाई गरेको माटो बचाउ अभियानको प्रशंसा गर्दै उनले भने, ‘माटो बचाउनु भनेको माटो मात्रै बचाउनु होइन, आफ्नी आमा बचाउनु हो, तपाईंहरु सबै यो अभियानको अभियन्ता बन्नुभएको छ ।’

प्रशिक्षक रेग्मीले आफ्नो जीवन संघर्षका तीता-मीठा अनुभव र अनुभूति सुनाउँदा आफूहरुमा उर्जा भरिएको सो तालिममा सहभागी अधिकांशले प्रतिक्रिया व्यक्त गरेका थिए ।

सो अवसरमा पूर्वसांसद् एवं माइण्ड पावर एण्ड करियर डेभलपमेन्ट इन्टरनेशनल ट्रेनिङ प्रालिका प्रमुख सल्लाहकार पदम भण्डारी, प्रबन्ध निर्देशक अम्बिका घिमिरे, प्रालिका सदस्य सञ्जोक लिम्बू, कृषि सामग्री उत्पादक कम्पनी (जीएमटी) का पूर्वाञ्चल प्रतिनिधि भूवन भण्डारी लगायतले आ–आफ्ना विषयमा सहजीकरण गरेका वरिष्ठ प्रबन्धक मनहरि निरौलाले जानकारी दिए ।

कर्णाली साकोसका अध्यक्ष टसबहादुर प्रधानको अध्यक्षतामा आयोजित कार्यक्रममा शाब्दिक स्वागत साकोसका प्रमुख कार्यकारी अधिकृत कुमार याक्सोले गरेका थिए ।

संस्थाका विभागीय प्रमुखहरु, रिसेप्सनिस्ट, फिल्ड कर्मचारी लगायत गरी २२५ जना सहभागी कार्यक्रमको सञ्चालन संस्थाका सचिव भूपाल बस्नेतले गरेका थिए ।

सम्बन्धित खबर