२०८१ मंसिर १२, बुधवार , १२:५१:१९ बजे

Sajhamanch
'

कमल गाउँपालिकामा सिलाई कटाई तालिम केन्द्रको स्थापना

बिहिवार, असार ६, २०८१

कमल । झापाको कमल गाउँपालिकाले पालिकास्तरीय सिलाई कटाई तालिम केन्द्रको सुरुवात गरेको छ । पालिकाभरका बेरोजगार महिलालाई उचित तालिम प्रदान गर्ने उद्देश्यले सो तालिम केन्द्र सञ्चालनमा ल्याइएको जनाइएको छ ।

वर्षैभर नियमितरूपमा सञ्चालन गरिने सिलाई कटाई तालिम केन्द्रको गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले उद्घाटन गरेका छन् । उद्घाटन पछि मन्तब्य राख्दै पालिका अध्यक्ष राईले सिलाई कटाई सम्बन्धी तालिम अत्यन्तै प्रभावकारी हुन्छ । महिलाहरू सक्षम भएमात्र हरेक क्षेत्र सबल र सक्षम हुने भएकोले महिलाहरूको क्षमता विकासमा गाउँपालिका लागिपरेको उनको भनाई छ ।

अब हामीले पहिलेको जस्तो तालिम दिँदै छोड्ने होइन, हाम्रो कार्यकालभरमा तापाईहरुलाई पूर्णरुपमा सीप सिकाएर सक्षम बनाउँदै जिविकोपार्जन गर्न सक्ने योग्य बनाउने जिम्मा लिएर नै पालिकाले स्थायी तालिम केन्द्र सुरु गरेको अध्यक्ष राईले बताए ।

बर्खाको समय भएपनि तालिम नियमित सञ्चालन हुने भएकोले आफ्नो अनुकूल समय मिलाएर तालिम लिन पालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले सहभागीलाई अनुरोध गरिन् ।

तालिममा नियमित रुपमा सहभागी भई प्रशिक्षकले सिकाएका कुरालाई ध्यानपूर्वक सिकेर आफ्नो व्यवहारमा लागू गर्न सकेमा तपाईँहरू आर्थिक र समाजिक रुपमा समेत सक्षम हुने भएकोले नियमित तालिममा सहभागी हुन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्यले सहभागीलाई अनुरोध गरे ।

कमल गाउँपालिकाले पछिल्लो समय हरेक नागरिकलाई स्वरोजगार बनाउन विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । त्यसै अन्तर्गत यो सिलाई कटाई तालिम केन्द्रको स्थापना गरिएको प्रशासकीय अधिकृत शाक्यको भनाई छ ।
नवस्थापित तालिम केन्द्र अन्य तालिमजस्तो केही दिन सञ्चालन गरिने नभएर वर्षैभर नियमितरुपमा सञ्चालन हुनेछ । एकपटकमा ३० जना महिलाले तालिममा सहभागी हुन सक्ने व्यवस्था मिलाइएको छ । ३ महिनामा उहाँहरुलाई दक्ष बनाएर पुनः अर्को तालिम सञ्चालन गरिने पालिका महिला तथा बालबालिका शाखा प्रमुख रिता कार्की रिजालले जानकारी दिइन् ।

सम्बन्धित खबर