२०८१ पौष २६, शुक्रवार , ०६:११:२२ बजे

Sajhamanch
'

चन्द्रगढी सामुदायिक वनद्वारा महिलालाई घरायसी सामान बनाउने तालिम

बुधवार, असार ५, २०८१

भद्रपुर । भद्रपुर नगरपालिका वडा नं ९ मा पर्ने चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहले वनमा आवद्ध महिला उपभोक्ताहरुका लागि दैनिक आवश्यक घरायसी सामान बनाउने तालिम सञ्चालन गरेको छ ।

वनले वार्षिक कार्यक्रम अनुसार गरिबी न्यूनीकरण तथा महिला सशक्तिकरण कार्यक्रम अन्तर्गत महिला उपभोक्ताहरुका लागि साबुन, ट्वाइलेट क्लिनर, सर्फ र फिनेल बनाउने तालिम सञ्चालन गरिएको समूहका कोषाध्यक्ष अनुज खतिवडाले जानकारी दिए ।

चार दिवसीय सो तालिमको आज बुधबार एक समारोहका बीच भद्रपुर नगरपालिका वडा न ९ का वडाध्यक्ष रामप्रसाद दाहालले उद्घाटन गरेका छन् । वनका अध्यक्ष दुर्गापसाद भट्टराईको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा वडाध्यक्ष दाहालले तालिमबाट प्राप्त सीपलाई व्यवहारमा उतारी स्वरोजगार बन्न सहभागी महिलाहरुलाई सुझाव दिए ।

अध्यक्ष भट्टराईले तालिमको औचित्य प्रस्ट्याउँदै वनमा आवद्ध कोही परिवार वा उपभोक्ता सीपको अभावका कारण बेरोजगार बन्नु नपरोस् भन्ने उद्देश्यले तालिम आयोजना गरिएको सुनाए । उद्घाटन कार्यक्रमको सञ्चालन वन समितिका सदस्य मञ्जु अधिकारीले गरेकी थिइन् ।

असार ८ गते शनिबारसम्म सञ्चालन हुने तालिममा प्रशिक्षकको रुपमा रुद्रप्रसाद भट्टराई र सीता बानियाँ रहेको कोषाध्यक्ष खतिवडाले बताए ।

सम्बन्धित खबर