२०८१ पौष २६, शुक्रवार , ०६:०४:५६ बजे

Sajhamanch
'

सहकारीको रकम लुट्न गोली चलाएर फरार भएका भारतीय नागरिक पक्राउ

मङ्गलवार, असार ४, २०८१

रौतहट । लुटपाटमा संलग्न २० वर्षीय भारतीय नागरिक मोनुकुमार जैसवाललाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीका अनुसार पक्राउ परेका उनी भारतको बिहार राज्य मोतिहारी जिल्ला पूर्वी चम्पारण थाना घोडासहन ग्रामपञ्चायत बसवरिया–२ का हुन् ।

गत जेठ २२ गते बिहान माँ बचत तथा ऋण सहकारी संस्थामा काम गर्ने बौधिमाई–८ का २४ वर्षीय अरविन्दकुमार दास १७ लाख झोलामा राखेर राष्ट्रिय वाणिज्य बैंकमा जम्मा गर्न मोटरसाइकलमा मौलापुरतर्फ गइरहेका थिए ।

त्यसक्रममा विपरीत दिशाबाट आएका ३ जना अपरिचित व्यक्तिहरूले उक्त रकम लुटपाट गर्ने उद्देश्यले दासलाई पछाडिबाट गोली हानेर फरार भएका थिए ।

प्रहरीले अनुसन्धानका क्रममा घटनामा संलग्न अभियुक्तहरूको साँठगाठ सीमावर्ती भारतको बिहार राज्य मोतिहारी जिल्ला पूर्वी चम्पारण घोडाहसनमा सक्रिय बाबा ग्याङ नामक आपराधिक समूहका व्यक्तिहरूसँग रहेको निष्कर्ष निकालेको थियो ।

उनीहरू भारत र नेपालको सीमावर्ती क्षेत्रमा लुटपाट र भारतीय सामानको तस्करीमा सक्रिय रहेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

गत असार २ गते साँझ साढे ५ बजे मौलापुर–७ बाट घरेलु कटुवा पेस्तोल १ थान, गोली राउन्ड २ थानसहित जैसवाललाई पक्राउ गरिएको प्रहरी प्रवक्ता डीएसपी गिरीले बताइन् ।

जैसवालमाथि हातहतियार तथा खरखजना, चोरी तथा डाँका र ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा दर्ता गरी रौतहट जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आरोपी जैसवाल भारतीय प्रहरीको समेत मोस्ट वान्टेडको सूचीमा रहेका छन् । उनीमाथि घोडासहन र झरौखर थानामा एक दर्जनबढी आपराधिक मुद्दाहरू दर्ता रहेको मोतीहारी जिल्लाका एसपी कान्तेशकुमार मिश्रले बताए ।

सम्बन्धित खबर