नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी मंगलबार लोकसभाको चुनावमा आफू उठेको क्षेत्र वाराणसी जाँदैछन् । यस भ्रमणका क्रममा उनले वाराणसीमा प्रधानमन्त्री–किसान योजनाको १७ औँ किस्ता जारी गर्ने बताइएको छ । यस किस्तामा ९ करोड भन्दा बढी किसानहरूलाई २० हजार करोड भारु दिइनेछ ।
सञ्चारमाध्यमका अनुसार मोदी अपराह्न ४ बजे बाटपुरस्थित लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछन् । त्यसपछि उनी साँझ ५ बजे प्रधानमन्त्री किसान सम्मान सम्मेलनमा सहभागी हुनेछन् । त्यहाँबाट उनी वाराणसीको दशाश्वमेध घाटमा गंगा आरती हेर्नेछन् र त्यसपछि काशी विश्वनाथ मन्दिर जानेछन् ।
मोदी तेस्रो पटक वाराणसीबाट सांसद निर्वाचित भएका हुन् । तर पछिल्लो निर्वाचनमा उनको जित अन्तर १ लाख ५० हजार मत मात्रै थियो । यो भारतमा कुनै पनि प्रधानमन्त्रीको जितको सबैभन्दा कम मतान्तर हो । हालै कांग्रेस नेता राहुलले एक जनसभामा प्रियङ्का गान्धीले वाराणसीबाट चुनाव लडेको भए मोदीले चुनाव हार्ने बताएका थिए ।