
झापा । खुल्ला सिमानाको दुरूपयोग गर्दै दक्षिणी झापाबाट भारततर्फ गाई गोरू तस्करी बढ्दै गएको छ ।
पूर्वी पहाड तथा पश्चिम नेपालदेखि संकलन गरेका गाई गोरू तस्कर समूहले झापाको गौरीगञ्ज, टागनडुब्बा, घेराबारी, केचना, पाठामारी, पृथ्वीनगर, महेशपुर, घोडामारा, ज्यामिरगढी र बाहुनडाँगी नाकाबाट विभिन्न झुण्ड बनाएर भारततिर तस्करी गरिरहेका हुन् ।
गाई गोरू ल्याउने समूहले हरेक दिन ५ देखि १० गाडीसम्म जम्मा गरेर सदरमुकाम भद्रपुरबाट दक्षिण घेराबारी र केचना नाका लैजाने गरेका छन् । जलथलको चारकोसे जङ्गल र देउनिया खोलाको उपयोग गर्दै प्रहरी प्रशासनको समेत सहयोगमा गाईको अवैध तस्करी गरेर भारत हुदै बङ्गलादेश लैजाने गरेको स्थानीय बासिन्दाले नाम उल्लेख नगर्ने शर्तमा जानकारी दिएका छन् ।
नेपाल सरकारले प्रतिबन्ध गरेको गाई तस्करीलाई प्रहरी प्रशासनले आर्थिक चलखेलमा लैजान दिएको बताइन्छ । सो सेटिङ्ग वापत ती नाकाका लागि मासिक ३ देखि ५ लाख रुपैयाँ र स्थानीय युवाहरूलाई प्रतिगाई १ हजार रुपैयाँको दरले दिने गरेको एक व्यापारी स्वीकार गर्छन् ।
नेपालबाट यसरी लगिएका बुढा गाई गोरू भारत तथा बङ्गालादेश पुर्याई काट्ने गरेको विभिन्न सञ्चार माध्यमहरूले समेत बताउँदै आएका छन् । तर पनि नेपालमा झापाकै प्रतिष्ठित राजनीतिक पहुँचवालाहरूको मिलेमतोमा गाईगोरु त्स्करी भइरहेको जनाइन्छ ।
झापाको भूगोल हुँदै सयौं बुढा गाईहरू मासुकै लागि तस्करी भइरहेको छ । सरकारका प्रतिनिधि त बेखवर छन् नै हिन्दूवादको वकालत गर्नेहरु पनि तैँ चुप मँै चुप हुनु चाहिँ रहस्यमय छ ।