![](https://sajhamanch.com/wp-content/uploads/2024/06/meet.jpg)
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र स्वीट्जरल्याण्डका राष्ट्रपति भियोला एमहर्डबीच स्वीट्जरल्याण्डको बर्नमा भेटवार्ता भएको छ । स्वीट्जरल्याण्डको जेनेभामा भएको ११२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय सत्रमा आयोजना गरिएको ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ को उद्घाटन सत्रमा मुख्य वक्ताका रुपमा सहभागी हुन पुग्नुभएका राष्ट्रपति पौडेल र स्वीट्जरल्याण्डका राष्ट्रपति एमहर्डबीच हिजो भेटवार्ता भएको हो ।
त्यसअवसरमा राष्ट्रपति पौडेलले लोकतान्त्रिक प्रणाली र राजनीतिक अधिकार सुनिश्चित भएपछि नेपालको आवश्यकता र प्राथमिकता आर्थिक समृद्धि हासिल गर्नु रहेको र लोकतन्त्रलाई दिगो बनाउन आर्थिक विकास अपरिहार्य रहेको बताउनुभएको राष्ट्रपति पौडेलको निजी सचिवालयले जनाएको छ ।
राष्ट्रपति पौडेलले नेपालको आर्थिक सामाजिक विकासमा स्वीस सरकारले गरेको सहयोगले नेपालीको मन जितेको बताउँदै नेपाल सरकारले स्वीस लगानीकर्तालाई नेपालमा स्वागत गर्न चाहेको र यसका लागि आवश्यक सहजीकरण गर्न प्रतिबद्ध रहेको विश्वास दिलाउनु भएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
स्वीट्जरल्याण्डका राष्ट्रपति भियोला एमहर्डले नेपाललाई आफूहरूले कुन क्षेत्रमा सहयोगको आवश्यकता रहेको हो त्यसमा सहयोग गर्न आफूहरू तयार रहेको बताएपछि राष्ट्रपति पौडेलले नेपालको सामाजिक र आर्थिक रुपान्तरणका लागि कृषि, पर्यटन र जलश्रोतको क्षेत्रमा लगानीका लागि आग्रह गरेका थिए।
स्वीट्जरल्याण्डका राष्ट्रपति भियोला एमहर्डले नेपालको शान्ति प्रक्रिया र सत्यनिरूपणको विषय आफूहरूको प्राथमिकतामा रहेको बताउनुभएको थियो । त्यस्तै उनले तेन्जिङ नोर्गे शेर्पाका नातीले आफ्नो गृह नगरमा चीज उत्पादन गर्न सिकिरहेको उल्लेख गर्दै नेपालसँग आफ्नो देश भूगोलमा मात्र नभई संस्कृति र परिकारमा पनि समानता रहेको उल्लेख गरेका थिए ।