२०८१ पौष २७, शनिवार , ०२:४४:३३ बजे

Sajhamanch
'

शिक्षकमाथि शोषण गर्ने प्याब्सन अध्यक्षले माफी नमागे इस्टु प्रतिवादमा उत्रने

बिहिवार, जेठ ३१, २०८१

भद्रपुर । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) झापाले प्याब्सन र एनप्याब्सनको आडमा शिक्षक कर्मचारीप्रति बढ्दै गएको शोषण र दुव्र्यवहार नरोके उत्पन्न हुने परिस्थितिको सामना गर्न तयार रहन विद्यालय सञ्चालकहरुलाई चेतावनी दिएको छ ।

विगतमा भएका सहमति विपरित प्याब्सन र एनप्याब्सनको नेतृत्वमै रहेकाहरूले शिक्षक कर्मचारीलाई दिनुपर्ने तलव नदिने बश्र कार्यस्थल मै गई धम्क्याउने प्रवृत्ति बढ्दै गएकोमा इष्टुले यस्तो चेतावनी दिएको हो ।

यस्ता गतिविधिहरु अविलम्ब नसच्याए संस्थागत विद्यालय शिक्षक युनियन कडा प्रतिवादमा उत्रने र सोबाट उत्पन्न हुने परिस्थितिको सामना गर्न तयार रहन पनि इष्टुले चेतावनी दिएको हो ।

जिल्ला अध्यक्ष होमराज खतिवडाले भद्रपुर प्याब्सनका अध्यक्षले सञ्चालन गरिरहेको विद्यालयमा कार्यरत शिक्षिकालाई सहमति अनुसार दिनुपर्ने ८ महिनाको तलव विवाद श्रम तथा रोजगार कार्यालयमा विचाराधिन रहेकै अवस्थामा पूर्वसचिवलाई प्रयोग गरी हाल कार्यरत विद्यालय सञ्चालकलाई धम्क्याउने प्रयास भएको प्रति खेद प्रकट गरेका हुन् ।

अध्यक्ष खतिवडाले श्रम कार्यालयमा तलव विवाद बारे २८ जेठमा हुने भनिएको छलफल विरामी भएको बाहनाले सार्न लगाएर भद्रपुर प्याब्सन अध्यक्षले शैक्षिक वर्ष २०८० को पारिश्रमिक दिनुपर्ने शिक्षिकालाई उल्टै धम्क्याउन मान्छे लगाउने काम गरेकाले तत्काल माफी मागेर पारिश्रमिक भुक्तानीको वातावरण निर्माण गर्न सुझाएका छन् । नत्र इष्टु शसक्त प्रतिकार गर्न तयार रहेको अध्यक्ष खतिवडाले बताएका छन् ।

प्याब्सन भद्रपुर अध्यक्षले सरकारले तोकेको न्यूनतम पारिश्रमिकसमेत नदिइ काममा लगाइएकी शिक्षिकाले सहमति अनुसारको तलव माग्दा भुक्तानी गर्न अस्वीकार गरेपछि २०८१ वैशाख १३ गतेबाट सो विद्यालय छोडेर अर्को विद्यालयमा काम गर्न थालेकी छन् ।

२०८० अशोजदेखि २०८१ वैशाख १३ गतेसम्म काम गरेको पारिश्रमिक पाउनु पर्ने माग दावी गर्दै श्रम तथा रोजगार कार्यालयमा पुगेकी ती शिक्षिकालाई पारिश्रमिक नदिन प्याब्सनका केही नेता खुलेरै लागिरहेको इष्टुको दावी छ ।

उनीहरूकै योजनामा पछिल्लो छलफल बहना बनाएर सारिएको छ भने उनी कार्यरत विद्यालयका संस्थापक प्रिन्सिपललाई शिक्षिका निकाल्न दवाव दिँदै श्रमको विवाद नमिलाए राम्रो नहुने धम्की दिन थालेको पीडितको गुनासो छ ।

सम्बन्धित खबर