काठमाडौं । छिमेकी देश भारतको सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङ गोलेले पद तथा गोपनियताको शपथ लिएका छन् ।
उनले सिक्किमको मुख्यमन्त्रीमा दोस्रो कार्यकालका लागि शपथ लिएका हुन् । गान्तोकको पालजोर स्टेडियममा भएको शपथ ग्रहण समारोहमा गोलेलाई सिक्किमका राज्यपाल लक्ष्मणप्रसाद आचार्यले पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए ।
उनीसँगै मन्त्री परिषद्का ११ जना मन्त्रीहरुले पनि शपथ लिएका छन् ।
विधायक सोनाम लामा, अरुणकुमार उप्रेती, साम्दुप लेप्चा, भीमहाङ लिम्बू, भोजराज राई, जीटी ढुंगेल, पुरनकुमार गुरुङ, पिन्ट्सो नामग्याल लेप्चा, नरबहादुर दाहाल, राजु बस्नेत र छिरिङ थेण्डुप भुटियाले मन्त्रीका रुपमा शपथ ग्रहण गरे ।
सिक्किममा गत १९ अप्रेल २०२४ मा सम्पन्न विधानसभा चुनावमा गोलेको सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले ३२ सिटमध्ये ३१ सिटमा जीत हासिल गरेपछि गोलेको नेतृत्वमा नयाँ सरकार गठन भएको थियो ।
शपथग्रहणपछि मुख्यमन्त्री गोलेले आफू सरकारमा आएपछि सिक्किम–नेपालको सम्बन्ध विस्तार गर्न धेरै पहलहरु भएको बताए । उनले चिवा भञ्ज्याङ् सीमालाई सुचारु गराउन सिक्किम तर्फको सडक निर्माण लगायतमा कामहरु बाँकी रहेको बताए ।